• २८ माघ २०८२, बुधबार

‘ग्रे लिस्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

blog

कीर्तिपुर (काठमाडौँ), माघ २८ गते । नेपाल राष्ट्र बैँकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिस्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठुलो अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

राष्ट्र बैँकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आज यहाँ आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले यो हाम्रा लागि अवसरका रूपमा पनि रहेको बताउनुभयो।

“यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्ड अनुसार बनाउनुपर्ने पाठ सिकाएको छ”, उहाँले भन्नुभयो।

अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै त्यसलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

“त्यसका लागि भोली समस्या परेपछि गरौँला भनेर वा घटनापछि प्रतिक्रियात्मक भएर हुँदैन, पूर्वतयारी गर्नुपर्छ”, उहाँले भन्नुभयो । कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्नेमा गभर्नर प्राडा. पौडेलले जोड दिनुभयो ।

मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम यस्ताको रोकथाममा लगाउन बाध्य बनाउनुको साथै सामाजिक र वर्गीय विभेदलाई गहिराउने धारणा पनि उहाँको थियो ।

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैँकका अधिकारीहरू सहभागी छन् । रासस