• २८ माघ २०८२, बुधबार

लमजुङमा प्रत्यक्षतर्फ एक्लो महिला उम्मेदवार

blog

लमजुङमा प्रत्यक्षतर्फको एकमात्र महिला उम्मेदवार नेमकिपाकी गुजेश्वरी प्रजापति मगजु । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ २८ गते । पुरुषभन्दा महिला मतदाता सङ्ख्या धेरै भएको लमजुङमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ एक जनामात्र महिला उम्मेदवार रहनुभएको छ । 

प्रत्यक्ष तर्फको ११ पुरुष उम्मेदवारसँग एक्लो महिला उम्मेदवार निर्वाचनमा होमिनुभएको हो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट भक्तपुरको कमल विनायक नगरपालिका–१० निवासी गुजेश्वरी प्रजापति मगजुले लमजुङमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको हो । 

उहाँले रामलाल श्रेष्ठ प्रस्तावक र लक्ष्मीकुमारी श्रेष्ठलाई समर्थक राखेर माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय बेँसीसहरमा आफैं उपस्थित भएर उम्मेदवारी दिनुभएको छ । 

उम्मेदवारी दर्तापछि उम्मेदवार र राजनीतिक दलहरू लमजुङको गाउँठाउँ घुम्दै मतदाताको दैलोमा पुगे पनि मगजु भने बेखबर हुनुहुन्छ । भक्तपुरमै रहनुभएकी मगजुले फोन सम्पर्कमा फागुन पहिलो साता लमजुङ आउने बताउनुभयो । नेमकिपाको लमजुङमा पार्टी कार्यालय र सङ्गठन दुवै छैन । 

भूगोल र मतदातासँग अपरिचित भए पनि महिलाबाट प्रत्यक्षमा उम्मेदवारी दिने आँट गरेकोमा मतदाताहरूले चासो दिएका छन् । नेमकिपाबाट २०७९ को निर्वाचनमा राजेन्द्रप्रसाद प्रजापतिले उम्मेदवारी दिँदा २० भोट मात्र पाउनुभएको थियो । 

विगतको निर्वाचनमा पनि लमजुङबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारले निर्वाचन लडेको सूची लामो छैन । २०५६ सालको संसदीय निर्वाचनमा पार्वती थापाले स्वतन्त्र रूपमा चुनाव लड्नुभएको थियो । दोस्रो जनआन्दोलनपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट मधु अधिकारी गुरुङले लमजुङ क्षेत्र नं. २ बाट प्रत्यक्षमा निर्वाचन लड्नु भई नौ हजार बढी मत पाउनुभएको थियो । 

२०७९ को निर्वाचनमा लमजुङ (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अप्सरा शाह, नेपाली कांग्रेस (विपी) बाट खुसीमाया गुरुङ र जनता समाजवादी पार्टीबाट सरस्वती गुरुङ प्रत्यक्षतर्फ निर्वाचन लड्नुभएको थियो । 

यसपटक समानुपातिकतर्फ भने लमजुङबाट चार जना महिला उम्मेदवारको नाम सूचिकृत रहेको छ । नेकपा (एमाले) बाट टुकाभद्रा हमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा राना मगर, नेपाल मजदुर किसान पार्टीबाट अनुकुमारी गुरुङ र नेपाली जनश्रमदान संस्कृति पार्टीबाट सुनिता न्यौपाने रहनुभएको छ । पुरुषतर्फ लमजुङबाट नेकपा (एमाले) को प्रेम घले मात्र उम्मेद्वारको बन्दसूचिमा रहनुभएको छ । 

लमजुङमा १ लाख ३७ हजार १२४ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । पुरुषभन्दा महिला मतदाताको सङ्ख्या एक हजार ९२४ ले बढी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार ७१७ जना मतदाता थिए ।