सिराज खान
नेपालगन्ज, माघ २८ गते । पछिल्लो समयमा आएर पश्चिम नेपालको केन्द्रविन्दु मानिने बाँके जिल्लामा सडक दुर्घटना बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को गत सात महिनाको अवधिमा जिल्लामा ६५३ वटा सवारी दुर्घटना भएको छ ।
ती दुर्घटनामा परेर ३१ जनाले ज्यान गुमाएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले ६६ जना गम्भीर र एक हजार ३० जना सामान्य घाइते भएको बताउनुभयो । उहाँले साउनदेखि माघ २५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा कुल ६५३ वटा सवारी साधन दुर्घटनामा परेको जनाउँदै ती दुर्घटनामा परेर २१ जना पुरुष, ७ जना महिला र ३ जना बालक गरी ३१ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
यसैगरी, सो अवधीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या पनि धेरै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ३८५ सवारी साधनलाई कारबाही गरिएको छ । सो कारबाहीबाट एक करोड १६ लाख ३१ हजार ५०० रुपियाँ जरिवाना सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
प्रमुख शाहीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४१३ जना तथा तीव्र गतिमा सवारी साधन चलाएका ५६४ जनालाई सो अवधीमा कारबाही गरिएको छ ।
यसैबिच ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रामा ध्यान दिन दैनिकजसो जिल्लाका विभिन्न स्थानमा भेला गरेर अनुरोध गर्दै आएको छ । सो क्रममा ट्राफिक नियमको जानकारी गराउनुका साथै नियम उल्लङ्घन गरेमा हुने कारबाही र दुर्घटनाबाट हुने क्षतिका बारेमा पनि सचेत पार्ने कार्य गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।