हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङका एघार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता सङ्ख्या रहेको छ । जिल्लाका पाँच वटा स्थानीय तहमध्ये लो–घेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्र सबैभन्दा थोरै मतदात भएका केन्द्र छन् ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार वारागुङ मूक्तिक्षेत्र गाउपालिका–३, समरको समर आमाविमा सबैभन्दा कम ३६ जना मतदाता रहेका छन् । सोही गाउँपालिकाको वडा नं ५ साङ्तास्थित हिमाली आमाविमा ३९ जना, वडा नं १ लुप्रा आमाविमा ६५ जना, वडा नं ३ ध्याकरको अरनिको आमाविमा ६६ जना रहेका छन् ।
यसैगरी उपल्लो मुस्ताङमा पर्ने लो–घेकर दामोदरकुण्ड वडा नं ४ ढी आमाविमा ७० जना, यारा आमाविमा ७३ जना, वडा नं ५ ध्ये शालिग्राम युवा क्लब, ध्ये थाम्जुङमा ८८ जना र शालिग्राम आमावि ताङ्गयामा ९८ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो । निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो,‘‘तोकिएको मतदान केन्द्रको स्थलगत अनुगमन भइरहेको छ, मतदाता धेरैथोरै भए पनि आवश्यक पूर्वाधार प्रयाप्त छन् ।’’
जिल्लामा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन मतदान स्थलको निरीक्षण तथा सुरक्षा व्यवस्थाको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।जिल्लाका सबै मतदान स्थलको अनुगमन अन्तिम चरणमा पुगेको प्रजिअ शर्माको भनाइ छ । उहाँका अनुसार वारागुङ मूक्तिक्षेत्र–५,साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव वडा कार्यालयबाट आए पनि निर्णय भइसकेको छैन । जिल्लामा मतदान स्थल समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरभन्दा माथिल्लो उचाईमा समेत रहेका छन् ।
मुस्ताङमा सबैभन्दा धेरै मतदाता लोमन्थाङ गाउँपालिका वडा नं ५ राष्ट्रिय आधारभुत विद्यालयमा ६ सय २० जना मतदाता रहेका छन् । थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।
मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेका इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन समेत उम्मेदवार हुनुहुन्छ ।