गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर वैधानिक बसाइ ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था गरे पनि घरेलु श्रमिकको विषयमा अन्योल भएको छ ।
मन्त्रीपरिषद् बैठकले इराकमा लामो समयदेखि काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका श्रमिक पुनः जान चाहेको खण्डमा श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो ।
सोही निर्णयका आधारमा वैदेशिक रोजगार विभागले जनरल वर्करलाई श्रम स्वीकृति जारी गर्न थालेको छ । इराकमा घरेलु कामदारका रूपमा काम गरेर सो कार्ड प्राप्त गरी स्वदेशमा आएर श्रम स्वीकृति लिन चाहनेको हकमा भने विभाग अन्योल देखिन्छ । मन्त्रीपरिषद्को निर्णयपछि विभागले वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको
‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली नागरिकलाई नेपाल आएका बेला श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएबमोजिम विभागबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
विभागका महानिर्देशक मिरा आचार्यले इराकमा जनरल वर्करको काम गरेकालाई श्रम स्वीकृति दिन समस्या नभएको र घरेलु श्रमिकका हकमा श्रम स्वीकृति दिने वा नदिने भन्ने विषयमा दुबिधा रहेको बताउनुभयो । यसअघि नै भएको निर्णयमा स्पष्ट खुलाएर आएको भए सहज हुने थियो त्यो नभएकाले काम गर्दा समस्या देखिएको उहाँले सुनाउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले सरकारको निर्णयले इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका सबै प्रकारका श्रमिकलाई श्रम स्वीकृति दिन समस्या नहुने तर्क गर्नुभयो । इराकमा नयाँ जानेका लागि होइन, काम गरेर एउटा प्रक्रियामा रहेकाको हकमा बाधक हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुखसमेत रहनुभएका घिमिरेले यो विषयमा केही दुविधा भएमा छलफलबाट यसको समाधान निकाल्न सकिने बताउनुभयो । इराकका हकमा हाल देखिएको समस्या नीतिगत अस्पष्टताका कारण उत्पन्न भएको देखिन्छ, जुन मन्त्रालय तथा विभागका अधिकारीले स्वीकार गर्नुभएको छ ।
सो निर्णयका आधारमा श्रम स्वीकृति प्राप्त गर्न कम्तीमा तीन महिना म्याद भएको राहदानी, आधिकारिक भिसालगायत कागजात पेस गर्नुपर्ने हुन्छ । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत म्यादी जीवन बिमा, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, रोजगारदातासँगको करार सम्झौता, इराकको अध्यागमनले राहदानीमा लगाएको आगमन तथा प्रस्थान छापसमेत पेस गर्नुपर्ने विभागले भनेको थियो । त्यस्तै अभिमुखीकरण तालिम तथा स्वास्थ्य परीक्षण गरेको प्रमाण र श्रम स्वीकृति माग गर्ने व्यक्ति स्वयम् सक्कल राहदानी, भिसा तथा करार सम्झौतासहित विभागमा सनाखतका लागि उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।
यी सबै कागजात पेस गरेर विभाग जाँदासमेत विभागले श्रम स्वीकृति जारी गर्न नमानेको भन्दै श्रमिक दिनहुँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय धाउँदै आएका छन् । लामो समयदेखि इराकमा बसेर काम गरिरहेका सबैलाई श्रम स्वीकृति दिनुपर्नेमा विभागले विभेद गरिरहेको श्रमिकको गुनासो रहेको छ ।
इराकमा ३०÷३५ हजार हाराहारी नेपाली श्रमिक कार्यरत रहेकोमा ८० प्रतिशत नेपाली घरेलु श्रमिकका हैसियतमा काम गर्दै आएका छन् । घरेलु श्रमिकका रूपमा महिलाको सङ्ख्या धेरै भए पनि करिब एक तिहाइको सङ्ख्यामा पुरुष रहेको बताइन्छ ।