• २६ माघ २०८२, सोमबार

चार वटा हेलिकोप्टर कम्पनी भित्रिँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २६ गते । नेपाली उड्डयन क्षेत्रमा थप चार वटा हेलिकोप्टर कम्पनी भित्रिने प्रक्रियामा छन् । हेलिकोप्टरको बढ्दो प्रयोग, आरोहणतर्फको आकर्षण र हवाईक्षेत्रको व्यापारमा छाएको उत्साहसँगै नयाँ चार वटा हेलिकोप्टर कम्पनी वायुसेवा सञ्चालनको अनुमति लिने प्रक्रियामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेली एयर नेपाल, सगरमाथा एयर, गगनचुम्बी एयर र सुमेदा एयरले वायुसेवा सञ्चालन प्रमाणपत्रका लागि विस्तृत प्रस्ताव प्राधिकरणमा पेस गरेका छन् । “हेलिकोप्टर कम्पनीलाई प्रमाणपत्र दिने पाँच वटा प्रक्रियामध्ये अहिले दोस्रो चरणमा प्राधिकरणले आवेदन प्रस्तावमाथि अध्ययन गरिरहेको छ,” उहाँले भन्नुभयो । प्रस्ताव अध्ययनपछि प्राधिकरणले व्यावसायिक हवाई यातायात सञ्चालन गर्न सक्ने अन्य मुख्य निर्धारित आधारलगायत कागजात मूल्याङ्कनको प्रक्रिया सुरु गर्ने छ ।

सुरक्षित र प्रभावकारी हवाई सञ्चालन गर्न सक्ने क्षमता, दक्ष प्राविधिक जनशक्ति, उपकरण र प्रशिक्षण मूल्याङ्कनलगायतका आधारमा प्राधिकरणले वायुसेवा सञ्चालनको प्रमाणपत्र जारी गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै डाँफे एयरले समेत ७२ सिट क्षमताको एटिआर जहाज भित्र्याएर आन्तरिक र अन्तर्राष्ट्रियतर्फ उडान गर्ने व्यावसायिक रणनीति अनुसार वायुसेवा सञ्चालनको प्रमाणपत्रका लागि अनुमति मागेको छ ।

हाल नयाँ हेलिकोप्टर र जहाज सञ्चालनको अनुमति लिन कम्पनीसँग तीन वटा एयरक्राफ्ट हुनुपर्ने अथवा उक्त सङ्ख्या पाँच वर्षभित्र पाँच वटा पु¥याउने आधार प्राधिकरणमा पेस गर्नुपर्ने वा मर्जमा जाने सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । 

प्राधिकरणका अनुसार पर्यटकीय गतिविधि, आकस्मिक उद्धार, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानलगायत पर्वतीय क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरको प्रयोग बढ्दै गएको छ । हाल नेपालमा १२ वटा कम्पनीका ४० हाराहारी हेलिकोप्टर सञ्चालनमा छन् । त्यस्तै गरी आन्तरिकतर्फ सुगम र दुर्गम गन्तव्यमा सात वटा हवाईसेवा कम्पनीले हवाईसेवा दिँदै आएका छन् ।

अन्तर्राष्ट्रियतर्फ १५ देशका ३० कम्पनी

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ हाल नेपालसहित १५ देशका ३० वटा हवाईसेवा कम्पनीले नेपालबाट २८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हवाईसेवा दिँदै आएका छन् । दक्षिण एसियाका आठ, मध्यपूर्वका सात, दक्षिण–पूर्वी एसियाका चार, पूर्वी एसियाका आठ र युरोपको एउटा गन्तव्यमा नेपालबाट उडान हुँदै आएको छ । सन् १९६४ मा पहिलो पटक भारतसँग हवाईसेवा सम्झौता गरेयता हालसम्म नेपालको ४२ देशसँग अन्तर्राष्ट्रिय हवाईसेवा सम्झौता रहेको छ ।