• २६ माघ २०८२, सोमबार

चुनावलक्षित गोलभेँडा खेती

blog

‘चुनावी गोलभेँडा’ स्याहार्दै बर्दीबास–१०, खयरमाराका कृषक । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, माघ २६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मुलुकभर चुनावी माहोल तातेको छ । उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् भने सामाजिक सञ्जाल र सार्वजनिक स्थान चुनावी प्रचारप्रसार र हार जितको विश्लेषणले भरिन थालेका छन् ।

यही चुनावी रापतापबिच महोत्तरी जिल्लाको दुर्गम क्षेत्र मानिने बर्दीबास नगरपालिका–१०, खयरमारा भने फरक दृश्यमा देखिएको छ । यहाँका किसान उम्मेदवारका भाषणभन्दा ‘चुनावी गोलभेँडा’ खेतीमा व्यस्त छन् । निर्वाचनको समयलाई अवसरका रूपमा लिँदै उत्पादन गरिने गोलभेँडाले राम्रो मूल्य दिने भएकाले किसान चुनावी तामझामदेखि पर बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् ।

निर्वाचनको औपचारिक प्रचार सुरु हुनुअघि नै गोलभेँडा उत्पादन बजारमा ल्याउनुपर्ने भएकाले किसान फूल र फलले लटरम्म भएका बोट स्याहार्नमा व्यस्त छन् । यो व्यस्तताले उनीहरूलाई उम्मेदवार को को छन् भन्ने खासै जानकारीसमेत छैन । कतिसम्म भने खयरमाराकै इतिहासमा पहिलो पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका आफ्नै गाउँले मुकेश काफ्लेबारे पनि जानकारी छैन । 

बर्दीबास–१० का गोलभेँडा कृषक हिरा लोप्चनले भन्नुभयो, “हाम्रै गाउँका भरत बाजेका छोरा चुनावमा उठेको सुनेको छु तर कुन छाप हो थाहा छैन । भोट माग्न पनि आएको जस्तो लाग्दैन ।” लोप्चनले यस पटक निर्वाचनलक्षित छ कट्ठा जमिनमा गोलभेँडा खेती गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा उहाँले तीन कट्ठाबाट करिब चार लाख रुपियाँ बराबरको गोलभेँडा बिक्री गरेकाले यस पटक दोब्बर क्षेत्रफलमा गोलभेँडा लगाएको बताउनुभयो । 

स्थानीय युवा कृषक लक्ष्मण श्रेष्ठका अनुसार खयरमारा मधेश प्रदेशकै प्रमुख गोलभेँडा उत्पादन क्षेत्र हो । यहाँ एक सय बिघाभन्दा बढी क्षेत्रमा वर्षको दुई सिजन गोलभेँडा खेती हुँदै आएको छ । जसबाट वार्षिक १५ देखि २० करोड रुपियाँसम्मको कारोबार हुने गरेको छ । करिब पाँच सय किसान यस खेतीमा संलग्न रहेको उहाँले बताउनुभयो । 

श्रेष्ठका अनुसार पहिलो सिजन भनेको साउनमा रोपेर मङ्सिरदेखि पुससम्म बेचिने हिउँदे गोलभेँडा हो । दोस्रो सिजनका लागि माघमा रोपेर चैतदेखि असारसम्म बेचिने बर्खे गोलभेँडा हो । यो खयरमारामा हुने गोलभेँडाको नियमित खेती हो । 

उहाँका अनुसार गाउँका करिब पाँच सय किसान यो खेतीमा संलग्न छन् । नियमित दुई सिजनबाहेक निर्वाचनका बेला तेस्रो सिजनको खेती गरिन्छ । जसलाई स्थानीयस्तरमा ‘चुनावी गोलभेँडा’ भनिन्छ । २०७९ को निर्वाचनमा आफूले १३ कट्ठाबाट आठ लाख रुपियाँभन्दा बढीको गोलभेँडा बेचेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “चुनाव नभएको भए यो उत्पादन बढीमा तीन लाख रुपियाँमा सीमित हुने थियो । त्यसैले हामीलाई नेता र उम्मेदवारभन्दा गोलभेँडाप्रति भरोसा छ । यो नै हाम्रो लोकतन्त्र हो ।” 

बास–१०, भालुजोडाका ६० वर्षीय किसान लोकबहादुर श्रेष्ठले पनि गत निर्वाचनमा १० कट्ठामा लगाइएका करिब १२ हजार बिरुवाबाट साढे सात लाख रुपियाँभन्दा बढीको गोलभेँडा बिक्री गरेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार चुनावअघि प्रतिक्यारेट (२५ केजी) पाँच/छ सय रुपियाँमा पनि नबिक्ने गोलभेँडा चुनाव लागेपछि दुई हजार तीन सयदेखि दुई हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । 

चुनावको समयमा हुने भोजभतेरका कारण स्थानीय खपत बढने, सीमामा कडाइ र सीमा सिल हुँदा भारतीय उत्पादन भित्रिन नपाउने जस्ता कारणले स्थानीय गोलभेँडाको माग ह्वात्तै बढ्ने गरेको उहाँहरूले बताउनुभयो । यही कारण खयरमाराका किसानले निर्वाचनलाई अवसरका रूपमा लिने गरेका छन् ।

उहाँले भन्नुभयो, “यसपालि भने चुनावले धोका दियो । हामी २०८४ मा हुने आवधिक निर्वाचनको मानसिकतामा थियौँ तर अचानक निर्वाचन आएपछि पूर्वतयारी नहुँदा धेरै किसानले चाहेर पनि चुनावी गोलभेँडा खेती गर्न सकेनन् ।”

खयरमाराकै अरुणडाँडा कृषक समूहका अध्यक्ष विमल श्रेष्ठले चुनाव सकिएपछि नेताहरू गाउँ नफर्किने, स्थानीय उत्पादन र कृषि क्षेत्रलाई सधैँ उपेक्षा गरेको गुनासो पोख्नुभयो । विकास बजेट उत्पादनमुखी क्षेत्रमा नलाग्ने, गुटबन्दी र आसेपासेमा राजनीति सीमित हुँदा यो निर्वाचनप्रति पनि किसान निराश रहेको दुःखेसो पोख्नुभयो । श्रेष्ठका अनुसार अरुणडाँडा कृषक समूहले मात्र गएको सिजनमा करिब तीन करोड रुपियाँको गोलभेँडा बिक्री गरेको थियो ।