गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सम्पन्न बैठकमा उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत निर्देशिका परिमार्जनसहित पारित भएको हो ।
प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासाथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।
उहाँले केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि सोही स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहने जानकारी दिनुभयो । उहाँले तोकिएको जिम्मेवारी लिएर अन्यत्र भएकाबाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्य आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहने बताउनुभयो । बैठकले एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ’ भन्ने उद्घोषसाथ वडामै खटाउने निर्णय गरेको छ ।
त्यसै गरी महामन्त्री गुरुराज घिमिरेद्वारा प्रस्तुत प्रस्तावमा पनि बैठकमा छलफल भएको छ । कांग्रेसले निर्वाचनको मैदान विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ भएको निष्कर्ष निकालेको छ । बैठकको निर्णयमा भनिएको छ, “चुनावी मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुस्मन होइनन् । चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृति सबैले आत्मसात् गर्न सकून् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नु छ ।”
कांग्रेसले आफ्ना प्रतिस्पर्धी पार्टी र तिनका उम्मेदवारबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कसाथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्ने निर्णय गरेको छ । साथै घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट कांग्रेसका उम्मेदवार र प्रचारक टाढा रहने प्रस्ट पारेको छ । यसै गरी कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजकमा कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेल रहनुभएको छ ।