साहारा लिम्बू
फुङलिङ, माघ २५ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली भेगमा पाइने दुर्लभ प्रजाति केन्जो फुलको प्रचारप्रसार तथा संरक्षणका लागि प्रतिमा निर्माण गरिएको हो ।
सिदिङबा गाउँपालिकामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा प्रशस्तै केन्जो पाइने भएकाले राजधानी घोषणा गर्ने योजना अनुरूप केन्जोको प्रतिमा निर्माण गरिएको छ । नवनिर्मित केन्जोको प्रतिमा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङबो, गाउँपालिकाका अध्यक्ष मान बहादुर राई, उपाध्यक्ष कृष्ण कुमारी कडरिया (बन्दना) लगायत विभिन्न पालिकाको अध्यक्ष, उपाध्यक्षको उपस्थितिमा अनावरण गरिएको छ ।
पालिकाको केन्द्रमा रहेको पर्यटकीय क्षेत्र टावरडाँडामा केन्जोको प्रतिमा निर्माण गरि अनावरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब सात फिट उचाइ भएको केन्जोको प्रतिमा डेढ लाख रुपियाँको लागतमा निर्माण गरिएको छ ।
केन्जो ताप्लेजुङको तिम्बुङ पोखरी, तोक्पेगोला लगायतका क्षेत्रमा पाइने गरिएको छ । पछिल्लो समयमा तिम्बुङ पोखरीमा घुम्न हिँडेका पर्यटक केन्जोको समेत दर्शन गरेर फर्किने क्रम बढेको छ। जो पर्यटक तिम्बुङ पोखरीमा पुग्छन्, उनीहरूले केन्जोसँग अनिवार्य फोटो खिचेर मात्र फर्किने गरेका छन् ।
ठूला पात भएको कन्जो फुल्दा पिरामिड आकारमा टावर जस्तै अग्लो हुने भएकाले मानिसको आकर्षण पर्न थालेको छ ।