• २४ माघ २०८२, शनिबार

पुस्तक

‘बोरा’ का लेखकलाई अपिल

blog

पुस्तकको अनिकाल हुने ठाउँमा ‘बोरा’ उपन्यास हात प¥यो, मज्जासँग पढेँ । यसको कभर पृष्ठको कलाचेत विस्मयकारी छ । म थोरै पनि डराइनँ । मेरो मुटु अमिलो भएन । साधारण मान्छेको मुटु काम्दो हो– कुनै भयानक जीवको मुखमा बुढीआमा पुगेको देखेर । यो कलाको पक्ष भो । यो साहित्य हो र आमाको पक्षमा लेखिएको हो भने यसको कलालाई पनि महत्व दिनै पर्छ ।

यत्रो पुस्तक लेख्ने क्षमता भएका लेखकको जाँगर र रुचिलाई सलाम गर्नै पर्छ । यसले समेटेको समाज र त्यसमा उनिएर आएका चित्रहरू देख्दा लेखकको समाज दर्शनको कोण र रुचिबारे थोरै थाहा हुन्छ । जुन शैलीमा, जस्तो विधिमा यो कथा लेखिएको छ; यो कमालको छ । कम्तीमा ११०० औँ पृष्ठसम्म फैलिएको भए यसले आफ्नै इतिहास रच्थ्यो । उदार प्रकाशक हुन्थे भने १५ सय मूल्य राख्ने थिए । यहाँनिर उदारता देखिँदैन । किनभने यस किसिमको लेखन जोसुकैको क्षमताको विषय होइन । मुलुकले कुनै वर्ष मात्र यस्ता कृति पाउँछ । यो पुरस्कृत पनि होला कामना गरौँ, कदाचित् पुरस्कार पाएन भने ठानौँला ‘बोरा’ को श्रेष्ठताको बोध लिइएन । भनौँला– ‘बोरा’ ले नै पुरस्कारलाई बेवास्ता गरेको छ । यो सत्य बिर्सिएको हुनु हुँदैन– योग्य पात्रले पुरस्कार पायो भने पुरस्कृतको पनि महिमा बढ्छ । त्यसैले ‘बोरा’ वञ्चित हुने कारण छैन । किनभने लामो ऐतिहासिक पृष्ठभूमिपछि प्रशस्त सोचविचार र मन्थनपछि सिर्जिएको कृति हुनाले ‘बोरा’ भित्र मूल्यवान् थोकहरू सुरक्षित हुनु पर्छ र तिनको खोज हुनै पर्छ ।

म लेखक हुन्थेँ, साहित्यसँग संयुक्त रहन्थेँ, यस्तै ढङ्गको भाषिक सामथ्र्य राख्थेँ र आलङ्कारिक चेत समेटेका हुन्थेँ भने सर्वश्रेष्ठ सर्जकको पीठिकामा पनि विराजमान भइसक्थेँ तर मेरो हकमा सपना मात्र ।

कथा त एउटा इँटको पनि हुन्छ– माटो, समय, श्रमिक, प्राङ्गण (निर्माण स्थल) भट्टी, जग, कलाकर्मी र फेरि– सौन्दर्य प्रसाधनको । कथा स्रष्टाकै सिर्जना हो । ढुङ्गालाई मूर्ति बनाउने चेतना र सिप सामान्य हो र ? फेरि त्यसमा प्राणप्रतिष्ठा गराएर देवत्व प्रदान गर्नु सानु पुरुषार्थ भन्नु कसरी ? यी सबै कुराको निथारमा आएको होइन र ‘बोरा’ पनि ? त्यसैले यसको स्थान र उचाइ सर्वमान्य छ भनिदिए असङ्गत होला र ? हिजोलाई श्रेष्ठता दिँदै हिँडे पुग्ने कहाँ ? यो पटक यो सङ्ग्रहमा यो श्रेष्ठ भो नि ! हिजोसँग तुलना गर्नुको औचित्य के ? हिजो चन्द्रमुखीलाई सुन्दरी भन्थे; आज घोडमुखी (हयमुखी), गजमुखी, खरमुखीले सुन्दरी प्रतियोगितामा भाग लिन नपाउने र नजित्ने भन्ने छ र ? तर्कले जित्ने संसारमा परम्परावादी यन्त्रले तौलन मिल्छ र ?

यो पटक बिर्खेलाई राजा बनायौँ, हिजो धुन्धुकारीलाई ज्ञानी ठान्यौँ, आज ज्यानमारालाई देउता मान्यौँ, भोलि खद्योत्प्रकाश नक्सालीलाई सर्वराज भनेर शिर चढाउनु पर्ला भने ‘बोरा’ को उच्चतालाई उच्चता नदिने किन ? युगको अपेक्षा हो, जनताको चाहना हो, पाठकको माग हो, व्यापारको खेल हो । यी कुरालाई पन्साउन मिल्छ र ? जनमतले साधु सैतान हुने र सैतान साधु हुने होइन र ? साहित्यलाई हेर्ने नजर फेर्नै पर्छ । एउटै ढर्रामा चल्ने होला र सिर्जना ? परम्परा भिन्न परम्पराको खोजी होइन र आजको सिर्जना ? ‘बोरा’ भित्र यस्तो परम्परा छ किन ? नहेर्नु किन ?

तर मसँग परम्परावादी मन पनि छ । चरित्र पनि छ । संस्कार पनि छ । अझै म आफ्नी बेहुलीसँग आफैँले मधुरात्रि मनाउनु पर्छ भन्छु । मेरी पत्नीले मेरै वीर्यबाट सन्तान जन्माउन भन्छु । कैयौँ कुरा म उनीबाट अपेक्षा राख्तै रहन्छु । अनि म कसरी प्रगतिशील भएँ ? मभन्दा असंस्कृत व्यक्ति को होला र ? बोराभित्रका हरेक चरित्र–व्यवहार युगसापेक्ष होइनन् र ? समाजको चिन्तन र व्यवहार रुग्ण वा अप्रिय लाग्ने भए ‘बोरा’ ले साहित्यका गर्भमा समावेश गथ्र्यो र ?

क्यानभासमा रङ छर्के पनि, कोरे पनि, पोते पनि चित्र बन्छ । सायद त्यहाँ कला होला, लय होला, भाव होला, दीपक होला अनि सम्प्रेषण र उत्तेजक शक्ति होला । त्यसले छोला र उफार्ला पनि ! तर त्यो उफार्नु लय र सङ्गीतका कारण हो, या झाँक्रीतन्त्रका कारण ? ‘बोरा’ को प्रसिद्धि वा लोकप्रियताको आधार कुन पथबाट खोज्नु ?

ऋताङ्कका कथा, गुलाबकाबली र नरेन्द्रमोहिनीका कथाले उत्सुकता मन्थन र प्रसमन ल्याएका होइनन् र ! यस अर्थमा ‘बोरा’ माथि छ । भ्रमर र रूपमतीले रोमान्स र आदर्शलाई नै महत्व दिए कि ? ‘बोरा’ को बाटो नयाँ नै हुनु पर्छ । मुलुकबाहिरदेखि प्रत्येक ठाउँ प्रत्येक मान्छेसम्म आउँदा सन्तुलित र वस्तुगत यात्राको स्वागत भएकै हो ।

मेरो हुकुम चल्थ्यो भने, आज आएर पनि साहित्यमा– भाव सौन्दर्य, जीवन सौन्दर्य, शिल्प सौन्दर्य, कर्म सौन्दर्य, संवाद सौन्दर्यको माग गर्नेलाई सिधै उजुरीमा पार्थें । संसद्मै भाषा, संवाद, शैली र विधिको अमर्यादा देखिन्छ भने साहित्यले थाम्दा थामिएला त ! कानुन लाग्छ नत्र दुईचार लाइन पेस गर्नुहुन्थ्यो उद्धरण गरेर ।

साहित्यलाई वर्गीकृत ढङ्गले हेर्न आवश्यक हुन्छ कि ? किनभने माधव घिमिरे र बैरागी काइँलाले पढ्ने साहित्य– किसान, मजदुर र सडकको मानवले रुचाउँदैन कि ? सिनेमा र रेडियोका गीत साहित्यको शृङ्खलामा गृहीत रहेनन् । लोकगीतले अश्लीलताबाट जोगिए अब्बल उचाइ लिने पक्का छ तर दीक्षा र सङ्कल्प चाहिन्छ कि !

प्रत्येक कलाले र सिर्जनाले दर्जा खोज्छ । पहिलो कुरा हो– सिर्जनाले आफ्नो दर्जा आफैँ तोक्नु । दोस्रो हो– भावक वर्गले दर्जा तोक्नु । तेस्रो हो– पारखीले दर्जा तोक्नु । हिजोआज सञ्चार–सञ्जालले दर्जा बाँध्छ र मूल्याङ्कन समितिले दर्जा तोक्छ । आज जनमतको युग हो, विज्ञापन, प्रचार–प्रदर्शनको युग हो । यसलाई अवमूल्यन हैन, अधिमूल्यन गरौँ । अपिल यति मात्र हो– सडक साहित्यमा नदरौँ ।

तिर्खाएको यात्रीले पानीलाई महत्व दिन्छ । खास पाठकले ‘बोरा’ लाई खोजी खोजी पढ्लान् । सुनलाई सुनै हो भनिरहनु पर्दैन र पित्तललाई सुनको दर्जा दिनु पनि पर्दैन । कृतिले आफ्नो ठाउँ र महिमा स्वयम् निश्चित गर्छ ।