बोमलाल गिरी
नवलपुर, माघ २४ गते । प्रतिनिधि सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा चुनाव बहिष्कार गरेका दलहरूलाई सुरक्षा निगरानीमा राखेको छ । निर्वाचन बहिष्कार गरेका केही समूहले भोट नहाल्न आग्रह गर्दै गरेको पर्चा छरेको भेटिएको छ । त्यस कारणले ती दलमाथि निगरानी बढाएको बताइएको छ । सुरक्षा अधिकारीका अनुसार मोहन वैद्य नेतृत्वको व्रmान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिस्ट वैज्ञानिक समाजवादी पार्टी, समरजङ्ग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् ।
उनीहरूका गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गरी सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले बताउनुभयो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी माघ २१ गतेदेखि सशस्त्र प्रहरीले प्रगतिनगर र चोरमारामा सुरक्षा बेसक्याम्प खडा गरेको छ भने नेपाली सेनाले पनि सुरक्षा बेसक्याम्प खडा गरी नियमित गस्ती सुरु गरिसकेको छ । ११४ वटा निर्वाचन स्थल तथा ३११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । त्यस्तै ५० वटा संवेदनशील र ५३ वटा निर्वाचन स्थल सामान्य रहेको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।
प्रतिनिधि सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा क्षेत्र नं. १ का लागि ५८ वटा र क्षेत्र नं. २ का लागि ५६ वटा गरी ११४ वटा निर्वाचनस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका कार्यालय प्रमुख लालप्रसाद भुसालले बताउनुभयो ।
प्रजिअ पाण्डेयका अनुसार नवलपुरमा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन स्थलको रेकी गर्न सुरु गरिसकेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी चार वटै तहको सुरक्षा घेरामा निर्वाचन स्थलको सुरक्षा गरिने छ । सुरक्षाकर्मीले अहिलेदेखि नै निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोसाकमा गस्तीलगायत गतिविधि बढाइसकेको प्रजिअ पाण्डेको भनाइ छ । निर्वाचनको मितिभन्दा चार दिनअघि नै निर्वाचन स्थलमा कर्मचारी खटाइने छ । भारतीय सीमाक्षेत्र, विगतमा भएका झडप, पर्खाल नभएका स्थललगायत कारणले ११ वटा निर्वाचन स्थललाई अतिसंवेदनशील क्षेत्रमा राखी निगरानी गरिएको उहाँको भनाइ छ ।
निरन्तर अनुगमन
वालिङ समाचारदाताका अनुसार स्याङ्जाका मतदान स्थलहरूको निरन्तर स्थलगत अनुगमन गरिँदै आएको छ । निर्वाचन अधिकृतहरू, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा मतदान स्थलहरूको अनुगमन भइरहेको हो ।
अघिल्लो सङ्घीय तथा प्रदेश सभा सदस्यको चुनावमा निक्कै चर्चामा आएको र नेपालमा नै संवेदनशील मतदान केन्द्र अन्तर्गत गणना भएकाले पटक पटक अनुगमन गरिरहेको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अतिसंवेदनशीलमा परेका मतदान केन्द्रहरूको निरन्तर अनुगमन गर्दै आएका छौँ ।” यस्ता मतदान केन्द्रमा पटक पटक पुगेको उहाँको भनाइ छ । निर्वाचन अधिकृतको कार्यालयले चापाकोट, कालीगण्डकी तथा गल्याङ र वालिङका केही वडामा रहेका मतदान केन्द्रलाई प्राथमिकतामा राखेर अनुगमन गरिरहेको जनाएको छ ।
यसैबिच स्याङ्जा ५६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षाका दृष्टि मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेर सोही अनुसार सुरक्षाको तयारी गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्लामा रहेका १९९ मतदान स्थलमध्ये ७१ संवेदनशील र ७२ मतदानस्थल सामान्यको सूचीमा रहेका छन् ।