बुटवल समाचारदाता
बुटवल, माघ २४ गते । रुपन्देहीमा एकै घरका दुई दाजुभाइ दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई दाजुभाइ उम्मेदवार बन्नुभएको हो ।
रुपन्देही क्षेत्र नं. १ बाट दाइ प्रज्वल बोहोरा उम्मेदवार बन्नुभएको छ भने क्षेत्र नं. ३ बाट भाइ गौरव बोहोरा उम्मेदवार बन्नुभएको हो । भैरहवा निवासी दुवै दाजुभाइ राप्रपाका पूर्वनेता तथा यसअघि २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट विजयी दीपक बोहोराका छोरा हुनुहुन्छ ।
पेसाले दाजु प्रज्वल बोहोरा सूचना प्रविधि इन्जिनियर हुनुहुन्छ भने भाइ गौरव बोहोरा पाइलट हुनुहुन्छ । दुवैका लागि संसदीय निर्वाचन नयाँ अनुभव हो । दुवै दाजुभाइले अहिले निर्वाचन प्रचारप्रसारका क्रममा जनताको घरदैलोमा पुगेर मत माग्दै आउनुभएको छ । दुवै दाजुभाइको यो चुनावको एजेन्डा पनि समान छन् । प्रज्वल र गौरव दुवैले विकासको मूल मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो गरिरहनुभएको छ ।
प्रज्वलसंग स्वर्गीय पिता दीपक बोहोरासँगै चुनावी अभियानमा यसअघि निर्वाचन क्षेत्रमा प्रचारमा हिँडेको अनुभव भएकोले आफूलाई जनतामाझ जान कुनै अप्ठ्यारो नभएको बताउनुभयो । गौरव बोहोरा पनि यसअघि बुवाले निर्वाचनमा उठ्दाको चुनावी मुद्दा अझै पूरा नभएकोले बुवाको सपना पूरा गर्न जनतामाझ आएकोले निर्वाचन सहज भएको बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर १ मा प्रज्वलसंगै यस पटक ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नं. १ मा कांग्रेसका हिराबहादुर खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनील लम्साल र एमालेबाट दधिराम न्यौपाने चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा २०७९ को निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका उम्मेदवार दीपक बोहोरा विजयी बन्नुभएको थियो । अहिले उक्त क्षेत्रबाट बोहोरा पुत्र गौरव बोहोरा निर्वाचनमा होमिनुभएको छ । यो निर्वाचन क्षेत्रमा अरू सबै राजनीतिक दलले नयाँ उम्मेदवार मैदानमा उतारेका छन् ।
यो क्षेत्रमा कांग्रेसले सुशील गुरुङलाई उम्मेदवार बनाएको छ भने एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ । रास्वपाले डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट फैज अहमद खाँ र जसपा नेपालबाट श्रीनिवास यादव उम्मेदवार बन्नुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार एक लाख चार हजार ३५ मतदाता रहेको यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ ।