• २४ माघ २०८२, शनिबार

भागेका कैदीबाट निर्वाचन सुरक्षामा चुनौती

blog

धनगढी समाचारदाता

धनगढी, माघ २४ गते । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती थपिएको छ । कैलाली कारागारबाट फरार भएका धेरै कैदीबन्दी अझै कारागार नफर्केपछि प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको हो । १०१ किलोमिटर नेपाल–भारत अन्तर्राष्ट्रिय खुला सिमाना रहेको यो जिल्ला त्यसै पनि संवेदनशील मानिन्छ । यहाँका धेरै मतदानस्थल अति संवेदनशील छन् । 

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर प्रशासनले सतर्कता बढाएको छ । फरार कैदीबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सतर्कताका लागि उनीहरूको फोटोसहितको विवरण सार्वजनिक गरिएको छ । भदौ २४ गते कारागारबाट फरार भई हालसम्म पनि सम्पर्कमा नआएका कैदीको फोटोसहितको विवरण प्रशासनले सार्वजनिक स्थलमा टाँस गरेको छ । कारागार कार्यालयका अनुसार भागेमध्ये आधाभन्दा बढी कैदीबन्दी कारागार फर्के पनि २२२ जना अझैँ फरार छन् । फरार रहेकामध्ये कतिपय कैदीबन्दी गम्भीर अपराधका पनि रहेका छन् । फरार कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । फरार रहेका कैदीको फोटोसहितको विवरण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायतका सरकारी कार्यालयको मूल गेटमा टाँसिएको छ ।