• २४ माघ २०८२, शनिबार

महोत्सवमै स्वयम्भु स्तुपा र धरहरा

blog

नवौँ वालिङ महोत्सवमा विद्यार्थीले निर्माण गरेको धरहरादेखि स्वयम्भु स्तुपा । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ २४ गते ।
नवौँ वालिङ महोत्सवमा विद्यार्थीको उत्कृष्ठ कला प्रदर्शन गरिएको छ । “हाम्रो मौसम हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित नवौँ वालिङ महोत्सवमा स्टलको ठिक अगाडि विद्यालयहरुले शैक्षिक प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेको धरहरादेखि स्वयम्भु स्तुपा समेत देख्न सकिन्छ भने विभिन्न उपकरण समेत निर्माण गरिएको छ । विद्यार्थीहरुले नेपालको पहिचान झल्कने पेन्टिङदेखि धार्मिक स्थलहरुको नमुना समेत प्रदर्शन गरिएको छ ।

पूर्णामृत भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वचालित सिँचाइ प्रणाली, न्युटनको पालना, दिगो विकासको नमुना, मान्छे आउनसाथ बज्ने घण्टी, कार्बन यएर फील्टरेशन, रिर्मोट गाडि, वायरलेस चार्जर, परमाणु संचरनालगायतका संरचनाहरु प्रदर्शनीमा राखिएका कक्षा ११ का विज्ञान विषय अध्यनरत छात्र विवके भुषाल बताउनुभयो ।

त्यस्तै पूर्णामृतकै आडैमा रहेका स्टलमा साईन भिलेज इन्टरनेशनल विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न पेन्टिङ बनाएका छन् भने उक्त सामग्री शिक्षकहरुको सहयोगमा विद्यार्थीले निर्माण गरेको विद्यालयका शिक्षक अभय कपुरले बताउनुभयो ।

यहाँ पूर्णामृत मावि, साईनभिलेज इन्टरनेशनल एकेडेमी, नेपाल आर्दश, पिसजोन इन्टिग्रेटेड मावि, आँधीखोला बहुप्राविधिक, बालविद्या विकास माविलगायतका विद्यालयहरुले आफ्नो शैक्षिक प्रदर्शनी राख्नुभएको हो ।

हरेक वालिङ महोत्सवमा विद्यार्थीहरुको उत्कृष्ठ कलाहरु हेर्दै आएको बताउँदै स्टल व्यवस्थापन समितिका संयोजक केशव पराजुली विगतमा समाज भवनहरुमा प्रदर्शन गरिन्थ्यो भने यस पटक निःशुल्क स्टल नै उपलब्ध गराएर स्टेजको अगाडि भागमा शैक्षिक प्रदर्शनीको व्यवस्था गरिएको बताउनुभयो । माघ १४ गतेबाट सुरु भएको महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन, होटल लगायतका चार सय स्टल रहेका छन् ।