• २४ माघ २०८२, शनिबार

उच्च निष्ठाले मात्र न्याय सेवा सरल र प्रभावकारी बन्छ : प्रधानन्यायाधीश राउत

blog

जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्धघाटन गर्न बैतडीको गढी पुग्नुभएको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत । तस्बिर : केशब राज भट्ट

केशव राज भट्ट 
वाशुलिङ बैतडी, माघ २४ गते ।
जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्धघाटन गर्न बैतडीको गढी पुगेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता, इमान्दारिता र निष्ठापूर्वक काम गरे मात्र न्याय सेवा सरल, छरितो र कम खर्चिलो बन्ने बताउनुभएको छ ।  

न्यायालयप्रति नागरिकको भरोसा मजबुत बनाउन न्यायिक निकायमा कार्यरत सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अदालत  नवनिर्मित भवन उद्धघाटन गर्दै प्रधानन्यायाधीश राउतले पछिल्लो समय न्याय क्षेत्रमा भौतिक तथा प्रविधिगत पूर्वाधार विस्तार हुँदै गएको उल्लेख गर्नुभयो ।

तर गत भदौ २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न २३ वटा अदालतका भवनमा रहेका हजारौं कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित उपकरणमा क्षति पुगेकाले पूर्वाधार विकासलाई थप चुनौती सिर्जना भएको पनि उहाँले बताउनुभयो ।

नवनिर्मित भवन सञ्चालनमा आएपछि जिल्ला अदालतको न्यायिक तथा प्रशासनिक काम कारबाही थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले सेवाग्राही मैत्री वातावरण सुदृढ भई सर्व साधारणको न्यायमा पहुँच अझ सहज हुने बताउनुभएको छ ।

भवनसँगै सेवा प्रवाहको गुणस्तर सुधार हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले पारदर्शिता र समयमै न्याय सम्पादनमा जोडदिनु पर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश राउतले न्याय सेवा सरल र कम खर्चिलो बनाउन प्रक्रियागत सुधार, प्रविधिको सदुपयोग र उच्च नैतिक आचरण अनिवार्य रहेको बताउनुभयो ।

यसका लागि न्यायाधीश, कर्मचारी र सरोकारवाला सबैले साझा प्रतिबद्धताका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो । जिल्ला अदालत बैतडीको पाँचतले भवन २०७७ सालमा ११ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको थियो ।

निर्माण कार्य गत असार महिनामा सम्पन्न भई औपचारिक रूपमा सञ्चालनमा आएको उक्त भवनबाट अब न्यायिक तथा प्रशासनिक सेवा थप व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा समेत गरिएको छ ।