राजु लामिछाने
रुकुमपश्चिम, माघ २४ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलमा जिल्ला सुरक्षा समितिले चासो लिएको छ । सुरक्षाका दृष्टिले वर्गीकरण गरिएकामध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई समितिले विशेष चासो दिएको हो ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले सबै मतदान केन्द्रको स्थलगत अनुगमनलाई तीव्रता दिइरहेको र अति संवेदनशील मतदान केन्द्रमा विशेष चासो दिइरहेको बताउनुभयो । छ स्थानीय तह रहेको यस जिल्लाका ७३ वडामा ७६ वटा मतदान स्थल तथा १४० वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये २१ वटा मतदान स्थल भने अति संवेदनशील सूचीमा छन् । त्यसै गरी ४३ वटा मतदान स्थल संवेदनशील र १२ वटा मतदान स्थल सामान्य सूचीमा रहेका छन् । प्रजिअ थानीले सुरक्षा जोखिमका हिसाबले मतदान स्थलको वर्गीकरण गर्ने गरिएको र जिल्लामा सामान्यको तुलनामा धेरै मतदान स्थल अति संवेदनशील र संवेदनशील सूचीमा रहेको जनाउनुभयो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपेन्द्र थापामगर, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायतको टोलीले भौगोलिक हिसाबले टाढा डोल्पाको सिमानामा रहेका, विकट क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत अनुगमनसमेत गरेको छ । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय कार्यकर्ता, विद्यालयका शिक्षक तथा सञ्चालक समिति, नागरिक समाज, युवा तथा गाउँका अगुवासमेतसँग मतदान स्थलमा छलफल गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।
सुरक्षा बेस स्थापना
यसैबिच निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै रुकुमपश्चिममा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार चौरजहारी र आठबिसकोट नगरपालिकामा नेपाली सेना र सानीभेरी गाउँपालिकामा सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो । चौरजहारी नगरपालिका–१ स्थित विमान स्थलपरिसरमा र आठबिसकोट नगरपालिका–११ को सिमबजारमा नेपाली सेनाको बेस क्याम्प स्थापना भइसकेको उहाँले बताउनुभयो । नेपाली सेनाको चण्डीदल गण सल्लेबाट सेनानीको कमान्डमा सेना खटाएको हो ।
सशस्त्र प्रहरी बल ४७ नं. गुल्म रुकुमपश्चिमका सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीशचन्द्र हमालका अनुसार सानीभेरी गाउँपालिका–९ को सिम्लीमा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ । निर्वाचनको सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजना अनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित भएको बताइएको छ ।