• २४ माघ २०८२, शनिबार

पूर्णखोप छुटेका बालबालिका खोज्न घरदैलो अभियान

blog

घरदैलो गरेर नियमित खोपबारे जानकारी लिँदै स्वास्थ्यकर्मीको टोली । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, माघ २४ गते ।
आगामी वैशाख मसान्तभित्र पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी अभियान थालेको छ । गत वर्षको खोप अभियानमा छुटेका र चालु वर्ष पनि छुट्न सक्ने संभावित क्षेत्रमा विशेष टोली बनाएर खोजी थालिएको हो ।

बागलुङ नगरपालिकाले सबै स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी झिकाएर तालिम दिएपछि ३५ जनाको टोली बजार क्षेत्रमा परिचालन गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । खनालका अनुसा, नियमित अभियानमा छुटेका खोप लगाउने उमेर समूहका बालबालिका र पाठेघरको क्यान्सरविरुद्धको खोप (आरपिपि) लगाउनुपर्ने बालिकाहरुको खोजी अभियान थालिएको हो ।

विशेषगरी सहरी क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाई सरेर आउनेहरु खोप अभियानबाट छुटेको पत्ता लागेपछि नगर स्वास्थ्य शाखाले अभियान बनाएर खोजीकार्य थालेको खनालले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले टोलटोल र घरघरमा गएर खोप लगाउन छुटेकाहरुको खोजी गरी खोपको दायरामा ल्याउनेछन् । यो अभियानका लागि ३५ जना स्वास्थ्यकर्मी एकैपटक खटाइएको छ । विशेषगरी नगरपालिकाको वडा नं. २, ३ र ४ मा खोप छुटेका बढी देखिएकोले सोही स्थानमा अभियान केन्द्रित गरिएको छ ।

यो टोलीले कम्तीमा ६ सय घरधुरीमा खोजी गर्नेछन् । गत वर्ष नै सुरु भएको पाठेघरको क्यान्सरविरुद्धको आरपिपि खोप अभियानमा समेत बिद्यालय नगएका वा बसाइ सरेका र मदजुर बालिकाहरु छुटेको अनुमान छ । गत वर्ष १० वर्षदेखि १४ वर्ष भित्रका दुई हजार एक सय जनालाई आरपिपि खोप लगाएइएको थियो । त्यस्तै जन्मेदेखि १५ महिना भित्रका नौ सय बालबालिकालाई सबै प्रकारका खोप लगाइएको थियो ।

हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्नुपर्छ । तथ्याङ्कसहित घोषणा गरिने खोप अभियानलाई सफल बनाउन खोजीकार्य गर्न टोली गठन गरी सबैलाई अभिमूखिकरण गरेर घरघर पठाइएको जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद सापकोटाले बताउनुभयो । बजार क्षेत्रमा माइक समेत लगाएर घरघरमा कोही छुटेको भए जानकारी दिन समेत आग्रह गरिएको छ । वडा तहले पनि नियमित खोप लगाउन छुटेकाको खोजी गरिरहेका छन् । वैशाख महिनाभित्र सबै खोप पूर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गरिनेछ ।