टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), माघ २४ गते । निर्माणकार्य भइरहेको गुल्मी अस्पतालको भवन समयमै सम्पन्न भएका कारण मूल्याङ्कनमा पछि पर्दै आएको छ । केही वर्ष पहिले जनशक्तिको चरम अभाव थियो । अहिले भवनका कारण गुणस्तरीय सेवा प्रवाहमा सास्ती भएको छ । जसका कारण अस्पतालले आर्थिक वर्ष ०८२/०८३ को मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क प्राप्त गरेको छ । यो अङ्क गत वर्षकै निरन्तरता हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मूल्याङ्कन टोलीमा प्रमुख अर्घाखाँची असपतालका प्रमुख डा. जगन्नाथ तिवारी, प्रदेश स्वास्थ्य निर्देशनालयका डा. अच्युत शर्मा न्यौपाने, डा. शिशिर गिरी तथा सन्देश पौडेलले दुई दिनसम्म अस्पतालको मूल्याङ्कन गरेर अङ्क प्रदान गर्नु भएको थियो । मूल्याङ्कनका क्रममा अस्पतालको विगत र वर्तमान अवस्थाको तुलनात्मक अध्ययन गरिएको थियो ।
टोली प्रमुख डा. जगन्नाथ तिवारीले विगतको तुलनामा गुल्मी अस्पतालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै नयाँ भवन भनेर भौतिक पूर्वाधार सुधार भएपछि धेरै सुचक उत्कृष्ट हुने बताउनुभयो । मूल्याङ्कन गरिएको नतिजा सार्वजनिक कार्यक्रममा गुल्मी अस्पतालका प्रमुख डा. विभव बस्यालले हालसम्म भएका प्रगति, सामना गरिरहेका चुनौती र भावी योजनाबारे विस्तृत प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले पछिल्लो समय गुल्मी अस्पतालले हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्नुभयो । उहाँले निर्माणाधीन अस्पताल भवन छिटो सम्पन्न गर्न सबै क्षेत्रबाट निरन्तर निगरानी र चासो व्यक्त भएकाले छिट्टै निकास निस्कने बताउनुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले निर्माणाधीन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाह अझ सहज हुनेमा जोड दिएका थिए । कार्यक्रममा सरोकारवालाहरूले अस्पतालको विकास र सेवा विस्तारसम्बन्धी आ–आफ्ना सुझावसमेत प्रस्तुत गरेका थिए । हाल गुल्मी अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग विशेषज्ञ सेवा, हेमोडायलाइसिस सेवा लगायत विभिन्न विशेषज्ञ सेवाहरू विस्तार भइसकेका छन् ।
गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले प्रत्येक वर्ष हुने न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा अस्पतालको समग्र अवस्था निर्धारण हुने बताउनुभयो । यो मुल्याङ्कनका लागि नभएर सेवाग्राही र सरोकारवालाको सुझाबको आधारमा अस्पताल अहिलेको अवस्थामा आएको अर्यालले बताउनुभयो ।
हाल अस्पतालको अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पुरानो भवनका साँघुरा कोठाबाट समेत विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले २०७१ सालमै ५० शय्यामा स्तरवृद्धि गरे पनि भौतिक संरचनाको कमीका कारण पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन् । निर्माणाधीन पाँच तला नयाँ भवनमा आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचार कक्ष छुट्टाछुट्टै व्यवस्थासहित सञ्चालन हुने योजना रहेको छ ।
हाल बाल रोग, प्रसूति तथा हाडजोर्नी विशेषज्ञ सेवाको विस्तारपछि सयौँ बिरामीहरूले जिल्लामै सहज रूपमा सेवा लिन पाएका छन् ।
पहाडी जिल्लामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक आउन नमान्ने समस्या रहेकाले रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएर विशेषज्ञ सेवा सञ्चालन गर्दै आएको छ ।