जीवछ यादव
लहान, माघ २४ गते । सिरहा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लक्ष्मीपुर पतारी गाउँपालिका–६, सितापुरका स्थानीयवासीले दशकौँदेखि झेल्दै आएका समस्याहरू समाधान गर्ने विश्वसनीय प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन्।
हरेक निर्वाचनमा आश्वासन दिने दलका उम्मेदवारहरूले समस्या समाधान त परको कुरा, निर्वाचित भएपछि भेटघाटसमेत गर्न नआएको गुनासो गर्दै यसपटकको निर्वाचनमा विश्वसनीय प्रतिबद्धताको प्रतीक्षामा रहेको स्थानीय मतदाताहरूले बताएका छन्।
३५ वर्षदेखि सञ्चालन हुँदै आएको सितापुर हाटबजारको व्यवस्थापन, लहान नगरपालिका–१२ भोटियाटोलदेखि भारतीय सीमाना नर्गीसम्मको १८ किलोमिटर सडक कालोपत्रे, सलहेस फूलवारी सीमसार क्षेत्रबाट बग्ने पानीलाई सिँचाइ प्रयोजनका लागि व्यवस्थापन, नियमित बिजुली आपूर्ति, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास तथा गुठीको जग्गा फुकुवा गर्ने विषयमा विश्वसनीय प्रतिबद्धता आवश्यक रहेको स्थानीय सुशीलकुमार साहले बताउनुभयो। उहाँका अनुसार वर्षात्को समयमा हिलो र सुख्खा समयमा धुलोको समस्या समाधान नभएकाले सितापुर बजारका व्यापारी र किसान मारमा परेका छन्।
सितापुरस्थित श्री महन्थी जनता माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा किसान–मजदुर परिवारका बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेको अर्का स्थानीय ईश्वरलाल पासवानले बताउनुभयो। उहाँले भन्नुभयो, “हुनेखाने वर्गले आफ्ना बालबालिकालाई सहरी क्षेत्रका विद्यालयमा भर्ना गराएर पढाउन सकेका छन् तर गरिब मजदुर र निम्नवर्गीय किसान समस्यामा छन्। यसपटक शिक्षामा सुधार गर्ने उम्मेदवारलाई मत दिने विचार गरेका छौँ।”
सितापुर बजारबाट लहानस्थित अस्पताल पुग्न करिब १० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहेको पंकज गुप्ताले बताउनुभयो। “सितापुरमा रहेको बर्थिङ सेन्टर नामका लागि मात्रै छ। भरपर्दो प्रयोगशाला छैन, एमबीबीएस चिकित्सक पनि छैनन्। वर्षात्को समयमा त बजार पुग्नसमेत धौधौ पर्छ,” उहाँले भन्नुभयो।
क्षेत्रफल ठूलो भए पनि प्रहरी चौकीमा सीमित जनशक्ति भएकाले अपराध नियन्त्रणमा कठिनाइ भइरहेको भन्दै प्रहरी दरबन्दी बढाउन स्थानीय व्यापारीहरूले माग गरेका छन्।
सयौँ किसानका सयौँ बिघा जग्गा गुठीअन्तर्गत रहेकाले बैंकमा धितो राख्न र खरिद–बिक्री गर्न नपाउँदा समस्या झेल्नुपरेको स्थानीय किसानहरूले बताएका छन्। यस विषयमा विगतका निर्वाचनहरूमा पटक–पटक माग उठाइए पनि प्रदेश र संघीय सरकारले पहल नगरेको उनीहरूको गुनासो छ।
स्थानीय किसान अगुवा तथा वडा नम्बर ६ का वडाध्यक्ष अजयकुमार यादवले भन्नुभयो, “यसपटकको निर्वाचनमा किसानहरूको गुठी जग्गा फुकुवा मुख्य माग बनेको छ।”