काठमाडौँ, माघ २४ गते । चलचित्र ‘बिगुल’ को बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रसम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्र निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बिच एक सम्झौतामा हस्ताक्षर भएको थियो ।
केही साताअघि सम्पन्न चलचित्र टिमको मोफसल प्रचारप्रसार अभियानमा सघाएको नेपाल जेसिससँगको सहकार्यले आफूहरूलाई अझ धेरै ऊर्जा मिलेको निर्माता कोइरालाले बताउनुभयो । निर्देशक रमेश कोइरालाले चलचित्र भुइँमान्छेको कथा भएको र वर्तमान राजनीति परिदृश्यसँग निकै मिल्दो भएकाले हरेक नागरिकले हेर्नुपर्ने धारणा राख्नुभयो ।
निर्माता कोइरालाले चलचित्रमा नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यको चिन्तामा छटपटाइरहेका युवा पुस्ता र सङ्घर्षशील महिलाको चेतनालाई प्रतिनिधित्व गर्ने कथा प्रस्तुत गरिएको बताउनुभयो । म्याग्नेलिया गु्रपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाललगायतको अभिनय रहेको छ ।