गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । युवा कलाकार सुरेम देशारलाई ‘अरनिको युवा कला पुरस्कार’ शुक्रबार राजधानीमा प्रदान गरिएको छ । राष्ट्रिय युवा कोषद्वारा राष्ट्रिय विभूति अरनिकोको नाममा स्थापित सो पुरस्कारको राशि ४० हजार रुपियाँसहित सम्मानपत्र रहेको छ । सो पुरस्कार प्राज्ञ विजय थापाले प्रदान गर्नुभएको हो । नेपाली कलाको संरक्षण र विकासमा सहयोग पुर्याउने लक्ष्यसहित कोषले सो पुरस्कार स्थापना गरेको हो । नेपाली परम्परागत, आधुनिक एवं मौलिक चित्रकलाका क्षेत्रमा निरन्तर सक्रिय रही प्रशंसनीय कार्य गरेबापत कलाकार देशारलाई सो पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।
ललितपुर जिल्लाको चापागाउँको मध्यम वर्गीय परिवारमा २०४२ मङ्सिर २४ गते जन्मिएका सुरेम देशारले कलामा स्नातकोत्तर गर्नुभएको छ । कला विषयमा खोज, अध्ययन, अनुसन्धान, कला प्रवर्धन र कला जागरणको कर्ममा सधैँ सक्रिय रहने देशारले चापागाउँको धार्मिक स्थल वज्रबाराहीको जङ्गमा २०५५ सालदेखि चित्रकला झुन्ड्याएर व्यावसायिक कलाको प्रवर्धन र विकासको काम थाल्नुभएको हो ।
२०६८ सालमा सम्पन्न सिन्धुलीको दुम्जा कला यात्रापछि दर्जनौँ कलायात्रा गर्नुभएको देशारले तीन वटा एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । कलासम्बन्धी लेखनमा समेत सक्रिय सुरेमले भन्नुभयो, “एउटा कलाकारले कला सिर्जना मात्र नगरी सिर्जित कलामार्फत राज्य र जनतालाई यसको महत्व बुझाउन सक्नु पर्छ । यही कारण म कला सिर्जनामा सीमित नभई कला जीवन र जगत्लाई बुझाउने प्रयासमा दत्तचित भएर काम गर्दै आएको छु ।”
उहाँले प्रख्यात कलाकारका नाममा स्थापित पुरस्कार प्राप्तिले कला क्षेत्रमा अझै सक्रिय रहने जिम्मेवारी थपिएको बताउनुभयो । नेपाली जनजीवन, प्राकृतिक सौन्दर्य, संस्कृति र सांस्कृतिक सम्पदाका विषयमा यथार्थवादी कला सिर्जना गर्ने कलाकार देशारले समसामयिक विषयवस्तुमा समेत चित्र बनाउँदै आउनुभएको छ । गहिरो अवलोकन शक्ति, प्रकृति प्रेम र मानवीय संवेदनालाई क्यानभासमा रूपान्तरण गर्ने कलाकार देशारका चित्र रङ्गरेखाका समष्टि मात्र होइनन् भाव, स्मृति र समयका कथा बोकेर आउने जीवन्त अनुभूति हुन् । उहाँको चित्रकला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सङ्कलित छन् ।