नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ २४ गते । कवि खड्गबहादुर बोहराको नयाँ कविता सङ्ग्रह ‘पहिलो दिनको पहिलो प्रहर’ विमोचन गरिएको छ । कृतिको विमोचन गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार तथा समालोचक डा. महेन्द्रकुमार मल्लले बोहराको सिर्जनालाई ‘समय, समाज र चेतनाको ऐना’ को संज्ञा दिनुभयो ।
सर्वदा साहित्य सङ्गमद्वारा प्रकाशित उक्त सङ्ग्रहमा बोहराका ५४ वटा कविता समेटिएका छन्; जसले जीवन, राष्ट्र, अध्यात्म र समकालीन समाजका विविध आयामलाई संवेदनशील ढङ्गले उजागर गर्छन् । कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. राजकुमार थारू र मेघराज वलीले बोहराका कवितामा राष्ट्रचेत, अध्यात्मचेत र समयचेतको गहिरो उपस्थिति रहेको उल्लेख गर्नुभयो । उहाँहरूले कविताले समसामयिक विकृति विसङ्गतिप्रति तिखो व्यङ्ग्य र सचेत दृष्टिकोण प्रस्तुत गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा सपना राणा, रमेशबहादुर शाह र कृष्णमुरारी भट्टलाई शिक्षा तथा सांस्कृतिक उन्नयनमा पु¥याएको योगदानका लागि सम्मान गरिएको साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरी कोपिलाले बताउनुभयो ।