• २४ माघ २०८२, शनिबार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

ताप्लेजुङ जिल्लास्तरी १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २४ गते ।
ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखुमा शुक्रबारदेखि सुरु भएको हो ।

सिदिङ्वा गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री मेन्याङ्बोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भविश्यका खेलाडी उत्पादन गर्ने आधारशिला भएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी अर्थात बालबालिका नै भविश्यमा विभिन्न खेल विधाका राष्ट्रिय खेलाडी बन्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनमा मैवाखोला गाउँपालिका अध्यक्ष विजप्रकाश वनेम, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ लगायतले प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो ।

यता जिल्लास्तरीय प्रतियोगिताको व्यवस्थापकीय भूमिका निर्वाह र आफ्नो पालिकामा सञ्चालन गर्ने अवसर प्राप्त गरेकोमा सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले खुशी व्यक्त गर्नुभयो । आफ्नो पालिकामा आयोजना गरिएको प्रतियोगितालाई भव्य बनाउने र व्यवस्थापन लगायतमा सकेसम्म कुनै कमी हुन नदिनेगरी गाउँपालिका लागिपरेको पनि अध्यक्ष राईले बताउनुभयो ।

सोमबार सम्पन्न हुने प्रतियोगितामा जिल्लाका नौवटै स्थानीय तहले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) का अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो लगायतका विधा समावेश रहेका छन् । उक्त विभिन्न विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्र–छात्राले प्रतिस्पर्धा गर्ने पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।