• २४ माघ २०८२, शनिबार

भित्रियो सवा आठ अर्ब वैदेशिक लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म आठ अर्ब १७ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा छ अर्ब ४८ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो । 

छ महिनामा ४७५ परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । 

सरकारले गरेको नीतिगत सुधारसँगै मुलुकमा भित्रिने लगानीमा वृद्धि भएको हो ।  यस्तै छ महिनामा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको थियो । गत भदौ २३, २४ मा भएको जेनजी आन्दोलनका बिचमा पनि गत आवको छ महिनाको तुलनामा दुई अर्ब बढी वैदेशिक लगानी वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

यस्तै सरकारले विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत हुने व्यवस्था गरेसँगै थप लगानी बढ्ने अनुमान गरिएको छ । अब नेपालमा आउने सबै प्रकारका वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । हालै सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो ।

यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो । अब भने नेपालमा जति पनि विदेशी लगानी स्वचालित मार्गबाट लगानी स्वीकृत हुने छ । यसले गर्दा लगानीकर्तालाई सहज र छिटो छरितो हुने छ ।