• २३ माघ २०८२, शुक्रबार

घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकार समेट्न जेरियाट्रिक सोसाइटीको आह्वान

blog

काठमाडौँ, माघ २३ गते ।जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा ज्येष्ठ नागरिकका स्वास्थ्य र सामाजिक अधिकारका विषय समेट्न आह्वान गरेको छ ।

 सोसाइटीले विज्ञप्ति जारी गर्दै राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा ज्येष्ठ नागरिकका स्वास्थ्य र सामाजिक अधिकारका विषय समेट्न आह्वान गरेको  हो।

सोसाइटीले ज्येष्ठ नागरिकलाई सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क तथा निजी अस्पतालमा कम्तीमा ५० प्रतिशत छुटमा उपचार सेवा उपलब्ध गराउने अशक्त ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता विवरण कार्यलाई प्रभावकारी, घरमै स्वास्थ्य जाँच एवं ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने, ज्येष्ठ नागरिक ऐन नियममा भएका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गराउने लगायतका १४ बुँदा घोषणापत्रमा समावेश गर्न आग्रह गरेको छ । 

सोसाइटीका अनुसार नेपालमा करिब ३० लाखबढी ज्येष्ठ नागरिक छन् । देश संघीय संरचनामा प्रवेश गरेपनि ज्येष्ठ नागरिकसम्बन्धी रणनीति, बजेट र सेवा प्रवाहबीच आवश्यक समन्वय हुन नसकेको सोसाइटीको धारणा छ। 

भएका ऐन, नीति र रणनीतिहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनीहरूको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको विज्ञप्तिमा उल्लेख छ। 

आगामी प्रतिनिधि सभाको निर्वाचनले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यको प्रमुख राजनीतिक प्राथमिकता र मतदाता केन्द्रित एजेण्डाका रुपमा स्थापित गर्ने अवसर प्रदान गरेको सोसाइटीको भनाइ छ। 

सोसाइटीले घोषणापत्रमा समेट्न आह्वान गरेका १४ विषयहरू :

दलको सङ्गठनमा ज्येष्ठ नागरिक विभाग स्थापना गराउने 

ज्येष्ठ नागरिक ऐन नियममा भएका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गराउने 

भौतिक पूर्वाधार तथा सार्वजनिक यातायात सेवा ज्येष्ठ नागरिकमैत्री बनाउने 

ज्येष्ठ नागरिकलाई सम्मान र आदर प्रकट गर्ने नैतिक शिक्षाको पाठ्यक्रम विद्यालय र कलेजमा समावेश गराउने 

ज्येष्ठ नागरिकको हेरचाह तथा स्याहार सम्बन्धी तालिम एवं शिक्षा प्रदान गरी जनशक्ति उत्पादन गर्ने 

केन्द्रीय र प्रदेशस्तरीय अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि विज्ञ चिकित्सक तथा नर्सहरुको दरबन्दीसहित उपकरण र जेरियाट्रिक वार्डको व्यवस्था गराउने 

ज्येष्ठ नागरिकलाई सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क तथा निजी अस्पतालमा कम्तीमा ५० प्रतिशत छुटमा उपचार सेवा उपलब्ध गराउने 

अशक्त ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता विवरण कार्यलाई प्रभावकारी, घरमै स्वास्थ्य जाँच एवं ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने 

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, मिलन केन्द्र तथा चौतारो स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने मनोरञ्जन, योगा तथा व्यायामका लागि ज्येष्ठ नागरिक बाटिका पार्क स्थापना गरी एकीकृत आरोग्य आश्रम खोल्नुपर्ने ज्येष्ठ नागरिक ग्राम निर्माण गराउने 

व्यवसाय वा स्वरोजगारका लागि सरल ब्याजदरमा ऋण उपलब्ध गराउन ज्येष्ठ नागरिक च्यालेन्ज फन्ड खडा गराउने 

ज्येष्ठ नागरिकका सीप, अनुभव र क्षमतालाई उत्पादन र उत्पादकत्वसँग जोड्न विशेष व्यवस्था गराउने 

राज्यका विभिन्न तहमा योगदान गरेका ज्येष्ठ नागरिक मार्फत मेरो समाजलाई मेरो योगदान अभियान सञ्चालन गरी समाज विकासमा सहभागी गराउने।