• २३ माघ २०८२, शुक्रबार

रूसी जनरलमाथि गोली प्रहार

blog

मस्को, माघ २३ गते । रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । उहाँलाई अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई स्पष्ट हत्या प्रयासका रूपमा हेरिएको छ ।

प्रमुख गम्भीर अपराधको अनुसन्धान गर्ने रूसको अनुसन्धान समितिले रूसी जनरल स्टाफमा वरिष्ठ भूमिका निर्वाह गरिरहनु भएका जनरल भ्लादिमिर अलेक्सेभमाथि घटना स्थलबाट भाग्नु अघि ‘अज्ञात व्यक्तिले धेरै पटक गोली हानेको’ जनाएको छ । “पीडितलाई अस्पतालमा भर्ना गरिएको छ”, अनुसन्धान समितिले जारी गरेको विज्ञप्तिमा थप उल्लेख गरिएको छ ।

घटनामा संलग्न सन्दिग्ध व्यक्ति वा व्यक्तिको पहिचानबारे भने समितिले कुनै विवरण दिएको छैन । फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारी मारिएका छन् । तीमध्ये केही आक्रमणको जिम्मेवारी किएभले लिएको छ । अनलाइन जीवनी अनुसार जनरल अलेक्सेभ एक क्यारियर सैन्य अधिकारी हुनुहुन्छ र हाल रूसी जनरल स्टाफको पहिलो उप–प्रमुखको जिम्मेवारी सम्हालि रहनु भएको छ ।

उहाँले सिरियामा रूसको सैन्य हस्तक्षेपका क्रममा गुप्तचर कारबाहीको नेतृत्व गर्नु भएको थियो र त्यतिबेला वर्तमान नेता बशर अल–असदलाई समर्थन गर्नु भएको थियो । साथै, सन् २०२३ मा रुसी सेनाका शीर्ष अधिकारी विरुद्ध विद्रोह गर्ने प्रयास हुँदा वागनर समूहका प्रमुख येवगेनी प्रिगोझिनसँग वार्ता गर्न उहाँलाई पठाइएको थियो ।

“माथि उल्लिखित अपराधमा संलग्न व्यक्ति वा व्यक्तिको पहिचान गर्न अनुसन्धान प्रक्रिया र परिचालन खोजीका सबै उपाय अपनाइरहेका छौँ”, अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विज्ञप्ति मार्फत भन्नुभयो । गत महिना एक रूसी अदालतले सन् २०२४ मा रूसी सेनाको रेडियोलोजिकल, केमिकल तथा बायोलोजिकल डिफेन्स फोर्सका प्रमुख जनरल इगोर किरिलोभको हत्या गरेको अभियोगमा उज्बेकिस्तानका एक नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

जनरल किरिलोभ मस्कोमा एउटा अपार्टमेन्ट ब्लक छोड्ने क्रममा बुबी–ट्र्याप गरिएको स्कुटर विस्फोट हुँदा मारिनु भएको थियो । उक्त आक्रमण आफूले योजनाबद्ध रूपमा गराएको दाबी किएभले गरेको थियो । रासस/एएफपी