गोेरखापत्र समाचारदाता
काठमाडौं, माघ २३ गते । गोरखापत्र संस्थानले गोरखापत्रसँग जोडिएका विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि शोधवृत्तिको घोषणा गरेको छ । गोरखापत्र एकेडेमी अन्तर्गत प्रदान गरिने शोधवृत्ति दुई वर्गको हुनेछ ।
पहिलोमा गोरखापत्र, यसका सहप्रकाशन, गोरखापत्र संस्थानका योगदानबारे यसअघि नै विभिन्न विषय क्षेत्रमा गरिएका अनुसन्धानका लागि ५० हजार रुपियाँको प्रोत्साहन शोधवृत्ति प्रदान गरिने छ । त्यसका लागि आफूले गरेको शोत्रपत्र वा शोध प्रबन्धको एक प्रति र डिजिटल प्रति संस्थानमा उपलब्ध गराउनु पर्नेछ ।
यस वर्गमा स्नातकोत्तर, दर्शनाचार्य वा विद्यावारिधिका साथै स्वतन्त्र रुपमा गरिएका अनुसन्धान पर्ने गोरखापत्र एकेडेमीले जनाएको छ ।
दोस्रो वर्गको शोधवृत्ति नेपालका विश्वविद्यालय वा आङ्गिक क्याम्पसमा एमफिल, एमफिल पिएचडी र पिएचडीका लागि शोध प्रस्ताव दर्ता गराई अनुसन्धानका लागि स्वीकृत भएको हुनु पर्नेछ । गोरखापत्र दैनिक, द राइजिङ नेपाल, मासिक प्रकाशनहरु (मुना, युवामञ्च र मधुपर्क), गोरखापत्र संस्थान, गोरखापत्रका बहुभाषिक सामग्री, संस्थानका डिजिटल संस्करण गोरखापत्र अनलाइन र राइजिङडेली अनलाइनलगायतले नेपालका विभिन्न क्षेत्रमा दिएको योगदान शोध शीर्षकमा नै खोलेर त्यसै अनुसार अनुसन्धान भएको हुनु पर्नेछ । यस शोधवृत्तिको राशि एक लाख रुपियाँ रहेको छ ।
गोरखापत्रले पत्रकारिता, भाषा, साहित्य, संस्कृति, इतिहास, कला, अर्थबजार, वाणिज्य, सूचना तथा सञ्चार प्रविधि, छपाइ प्रविधि, छापाखानाको विकास जस्ता विभिन्न क्षेत्रमा पु¥याएको योगदान अनुसन्धानका विषय हुन सक्नेछन् ।
गोरखापत्रको सम्बन्ध प्राज्ञिक क्षेत्रमा स्थापना गर्ने र आफ्ना कामका आधारमा भएको गतिविधिको स्वतन्त्र मूल्याङ्कन गराउने र त्यसको अभिलेखीकरणमार्फत भावी पुस्तालाई ज्ञानको हस्तान्तरण गर्ने उद्देश्यले शोधवृत्तिको व्यवस्था गरिएको जानकारी गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताउनु भयो ।
प्राप्त शोधपत्र, शोध प्रबन्ध वा कृतिका साथै शोध अनुसन्धानको प्रस्तावको मूल्याङ्कन गोरखापत्र संस्थानद्वारा गठन गरिने मूल्याङ्कन समितिले गर्ने जानकारी गोरखापत्र एकेडेमीका निर्देशक केदार भट्टराईले दिनुभयो ।
दुबै वर्गका आवेदनको मूल्याङ्कन गोरखापत्र संस्थान शोधवृत्ति सम्बन्धी कार्यविधि, २०८२ को प्रावधान अनुसार हुने छ । आवेदन दिने अवधि ३० दिनको रहेको छ ।