देवराम यादव
सप्तरी, माघ २३ गते । सप्तरीको क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी सहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले सोधपुछका लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको छ ।
डाक्नेश्वरी नगरपालिका वडा ५ स्थित रहेको श्री कान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरी, रामसागर मण्डल, सत्येन्द्रकुमार मण्डल, कन्दीदेवी सदा, कविता सिंह, श्यामलादेवी मण्डल, दुखरन मण्डल, सुभाषकुमार साह र योगेन्द्रप्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकोले शुक्रबार उपस्थित गराई दिन डाक्नेश्वर नगरपालिकालाई अख्तियारले आग्रह गरेको हो ।
सो विद्यालयको विद्यालय भवन निर्माण कार्य समेतमा भ्रष्टाचार गरेको बेहोराको यस कार्यालयमा दर्ता भएको उजुरीको आधारमा छानबिन गरिरहेको आयोगले जनाएको छ । आयोगले पत्राचार गरेको पत्रमा रास्वपा उम्मेदवार चौधरी सहित अन्य आठ जनालाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनेर सम्बोधन गरेको छ ।
रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बखत आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर नेकपा एमालेसहित केही पार्टीका उम्मेदवारहरू विभिन्न जालझेल प्रपञ्च र झुठा आरोप लगाउन थालेको दाबी उम्मेदवार चौधरीले गर्नुहुँदै चुनावी मुखमा मेरो चरित्र हत्या गर्न तथा म विरुद्ध जनमत सृजना गर्न भ्रामक प्रचार गरिरहेको प्रतिक्रिया दिनु भएका छन् ।
उहाँले विद्यालय स्थापना तथा सञ्चालनमा आफ्नो परिवारले निकै जग्गा दान दिएको र दुई महिना अघि पनि विद्यालयका लागि आवश्यक रहेको थप जग्गा समेत दान स्वरूप मालपोत कार्यालय सप्तरीबाट रजिष्ट्रेसन एक महिना अगाडि गरेको बताउनुहुँदै अख्तियारले प्रचार प्रसारको बेलामा आफु विरुद्ध पत्र काट्नुलाई उपयुक्त समय नभएको भनि टिप्पणी समेत गर्नुभयो ।
उहाँले यसै मुद्दामा यस अघि पनि अख्तियारमा बयान दिई सकिएको बताउनुहुँदै मेरो काका नातामा पर्ने एमालेका उम्मेदवार आतिएर मलाई प्रचार प्रसार गर्न नदिने खेलमा लागेको समेत दाबी गर्नुभयो ।