धनगढी समाचारदाता
धनगढी, माघ २५ गते । विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएको कैलाली–५ मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नयाँ अनुहारबिच प्रतिस्पर्धा हुँदै छ ।
विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो गरी जित निकालेको यो क्षेत्रमा प्रायः सबै दलले नयाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएका हुन् । कांग्रेसले नरनारायण शाह (मनु), एमालेले यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्दबहादुर चन्दलाई चुनावी मैदानमा उतारेका छन् ।
यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्यारेलाल रानासहित विभिन्न दलका गरी जम्मा १५ उम्मेदवार रहे पनि मुख्य चार राजनीतिक दलबिच प्रतिस्पर्धा हुने मतदाताको आकलन छ । शाह, ढुङ्गाना र चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ भने आले यसअघि डोटीबाट निर्वाचित हुनुभएको थियो ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. आरजु राणा देउवालाई पाँच हजार मतान्तरले पराजित गरी यो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना विजयी हुनुभएको थियो । रानालाई २७ हजार २०२ र राणालाई २२ हजार ३२२ मत मिलेको थियो ।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा जितेका एमालेका रानालाई पराजित गरी नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभयो । पन्तको पक्षमा २१ हजार ३९२ मत आउँदा रानाले २० हजार ३१८ मत पाउनुभयो । एक हजार ७४ मतले पराजित रानालाई यस पटक पनि उम्मेदवारीका लागि सिफारिस गरिएको थियो तर एमालेले नयाँ अनुहारलाई मौका दियो । २०७९ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित प्राप्त गर्नुभएको थियो । उपमेयरमा भने नेकपा (एमाले) का कन्दकला रानाले जित्नु्भयो ।
क्षेत्र नम्बर ५ मा रानाथारू समुदायको मत निर्णायक मानिन्छ । यस पटकको निर्वाचनमा मुख्य राजनीतिक दलबाट रानाथारू समुदायका व्यक्ति उम्मेदवार नहुनु र अहिलेसम्मका निर्वाचनमा अपराजित नेपाली कम्युनिस्ट पार्टीका आले यसै क्षेत्रमा उम्मेदवार बन्नुले यस पटकको निर्वाचन अझ रोचक हुने आकलन गरिएको छ । नयाँ अनुहारका उम्मेदवार पुरानै मतदाता रिझाउन व्यस्त भएका छन् । उनीहरूले यो निर्वाचन क्षेत्रमा रहेको विभिन्न योजनालाई एजेन्डा बनाएर मत मागिरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार शाहले नयाँ पार्टीसँग नभई पुरानै दलसँग आफ्नो प्रतिस्पर्धा हुने आकलन गर्नुभएको छ । नयाँ पुरानो दलभन्दा पनि व्यक्ति हेरेर मतदाताले मत दिने र उपयुक्त व्यक्ति आफू रहेको उहाँको विश्वास छ ।
नेकपा (एमाले) का नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेको आफ्नो सङ्गठन चुस्तदुरुस्त हुनु र कुनै पनि किसिमको विवाद नरहनुले एमाले उम्मेदवार जित्ने विश्वास गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सबै पार्टीभित्र विवाद छ, तर हाम्रो पार्टीभित्र छैन । लोकतन्त्र, सङ्घीय गणतन्त्र, देश बनाउने मुद्दा, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा गरिएको काम पनि एमाले उम्मेदवार जित्ने आधार हो ।” अघिल्ला तीन निर्वाचनमा अपराजित आले पनि आफूले गरेको कामलाई मूल्याङ्कन गरेर जनताले भोट दिने र जिताउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विमानस्थल, अस्पताल स्तरोन्नतिलगायतलाई एजेन्डा बनाएर भोट मागिरहनुभएको छ ।