• २३ माघ २०८२, शुक्रबार

महिलाको आयआर्जनका लागि पञ्चेवाजा सहयोग

blog

पञ्चेवाजा प्राप्त गरेपछि खुसी हुँदै महिलाहरु । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, माघ २३ गते ।
भेरी नगरपालिकाले स्थानीय मौलिक संस्कृति संरक्षण  गर्नका लागि पञ्चेवाजा सहयोग गरेको छ । महिलाको सीप प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पञ्चेवाजा वितरन गरेको हो । नगरपालिकाले जाजरकोटस्थित  भेरी नगरपालिका ४ मा रहेको मौलिक महिला पञ्चेवाजा संरक्षण समूहलाई पञ्चेवाजा सेट हस्तान्तरण गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तिले महिलाहरूमा रहेको मौलिक सीपलाई थप प्रोत्साहन गर्दै त्यसलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ उपलब्ध गराइएको बताउनुभयो । उपप्रमुख सीता जैसीले महिलाले सिकेको सीपलाई व्यावसायिक बनाएर आत्मनिर्भरता बढ्ने र रोजगारी सिर्जना गर्नका लागि सामान सहयोग गरिएको बताउनुभयो ।

आफुहरुका लागि पञ्चेबाजा उपलब्ध गराएर पालिकाले ठुलो राहत गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले सामान उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्दै अब आफ्ना सीपलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय तारा विकले आफूहरूले सिकेको पञ्चेवाजा बजाउने सीपलाई अब पेशागत रूपमा प्रयोग गर्न बाजाले ठुलो टेवा दिने विश्वास व्यक्त गरिन् । भेरी नगरपालिकाको यस पहलले महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय मौलिक संस्कृति संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।