• २३ माघ २०८२, शुक्रबार

बैतडीका दुई हजार ४५३ किशोरीलाई एचपीभी खोप दिइने

blog

नियमित खोपमा एच।पी।भीखोप सञ्चालन गर्न बसेको जिल्ला खोप समन्वय समिति बैतडी । तस्बिर : केशब राज भट्ट

केशब राज भट्ट 
वाशुलिङ बैतडी, माघ २३ गते ।
बैतडीमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणलाई मध्यनजर गर्दै कक्षा ६ मा अध्ययनरत छात्रा तथा लक्षित उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही माघ २७ देखि फागुन २ गतेसम्म सञ्चालन गरिने भएको हो ।

अभियानअन्तर्गत जिल्लाभरिका १० वटै स्थानीय तहमा दुई हजार ४५३ जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपर भाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो । भट्टका अनुसार  कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी तथा गत वर्षको अभियानमा छुटेका किशोरीलाई लक्षित गरी खोप दिइनेछ । यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा कक्षा ६ मा अध्ययनरत दुई हजार तीन सय ८६ जना र गत वर्ष छुटेका ६१ जना तथा विद्यालय बाहिर रहेका ६ जना किशोरी गरी कुल दुई हजार चार सय ५३ जनालाई खोप दिने लक्ष्य निर्धारण गरिएको हो ।

यसअघि गत वर्ष सञ्चालन गरिएको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी १० हजार तीन सय १० जनालाई एचपीभी खोप दिइएको थियो । यस्तै जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. पविन उपाध्यायले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भएर लगाउन सकिने बताउनुभयो ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुको ज्यान जाने प्रमुख कारणमध्ये एक भएकाले समयमै खोप लगाएर रोगबाट जोगिनु अत्यावश्यक रहेको उहाले बताउनुभयो ।