• २३ माघ २०८२, शुक्रबार

कर्मचारी निलम्बनले सेवा प्रवाहमा समस्या

blog

बुढीगङ्गा नगरपालिकाको प्रशासनिक भवन । फाइल तस्बिर

बाजुरा समाचारदाता 

बाजुरा, माघ २३ गते । बुढीगङ्गा नगरपालिकाका सात जना कर्मचारी निलम्बन हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । पालिकाको प्रशासनिक भवन निर्माणको भ्रष्टाचार प्रकरणमा यहाँका अधिकृत छैटौँ नरेन्द्र नाथ, सबइन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सबइन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक वसन्तबहादुर थापा  निलम्बनमा परेका छन । 

प्रदेश सरकारको निर्देशनमा योभन्दा पहिला धेरै कर्मचारी हटाएको र अहिले फेरि कर्मचारी निलम्बित भएपछि यहाँका नागरिकलाई पालिकाले दिँदै आएको सेवा प्रवाहमा समस्या हुने गरेको हो । 

प्रदेश सरकारको निर्देशनमा पहिला यहाँ रहेको करार कर्मचारी हटाएपछि समस्या भएको थियो । अहिले फेरि थप यहाँका सात जना कर्मचारी निलम्बनमा परेपछि सेवा प्रवाहमा समस्या हुने गरेको बुढीगङ्गा नगरपालिकाका प्रवक्ता हेमराज जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पालिकामा मात्र होइन कर्मचारी नहुँदा वडामा समेत समस्या हुने गरेको छ । यसका लागि हामीले प्रदेश सरकारसँग कर्मचारी राख्न अनुमित मागेका छौँ  तर प्रदेश सरकारले नीति तथा ऐन नबनेकाले कर्मचारी राख्न मानेको छैन ।”

कर्मचारी नहुँदा अहिले यहाँका १० वडामा रहेका स्वास्थ्य संस्थामा समेत समस्या भएको छ । एक जनाले अहिले झन्डै तीनभन्दा बढी शाखा हेर्नुपर्ने भएकाले नागरिकले समयमै पाउने सेवा प्रवाहमा समेत समस्या भएको जैशीले बताउनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनगरप्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कानुनी व्यवस्था अनुसार ती आरोपित कर्मचारी स्वतः निलम्बनमा परेका हुन् । अख्तियारले पूर्वमेयर दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जनाविरुद्ध तीन करोड २७ लाख ७८ हजार १७७ रुपियाँ बिगो असुल र कैद सजाय माग गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत काठमाडौँमा प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।