• २३ माघ २०८२, शुक्रबार

निर्वाचन लक्षित प्रचार अभियान गाउँकेन्द्रित

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), माघ २२ गते । नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचारप्रसार अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले गाउँ गाउँकेन्द्रित अभियान सञ्चालन गर्दै दुई दिनमै दुई दर्जनभन्दा बढी गाउँमा चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ । 

पार्टीले जुम्ला जिल्लाका विभिन्न स्थानीय तहमा एकैसाथ प्रचार अभियान सञ्चालन गर्दै सङ्गठन परिचालनलाई तीव्र बनाएको हो । मङ्गलबार मात्रै नेपाली कांग्रेसले जुम्लाका ११ स्थानमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा चुनावकेन्द्रित कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाका अनुसार पार्टीले यस पटक घरदैलो, चुनावी सभा तथा प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताउनुभयो । मतदातासँग प्रत्यक्ष भेटेर पार्टीको नीति, उम्मेदवारको भूमिका र भावी योजनाबारे जानकारी गराउने उद्देश्यले प्रचार अभियानलाई तीव्र बनाइएको उहाँको भनाइ छ । 

नेपाली कांग्रेस जुम्लाका सचिव लक्ष्मणबहादुर शाहीका अनुसार मङ्गलबार हिमा गाउँपालिकाका सात वटा वडा, पातारासी गाउँपालिकाको वडा नं. २ र ६ तथा गुठीचौर गाउँपालिकाको वडा नं. ३ र ४ मा चुनावी प्रचारप्रसार कार्यक्रम गरिएको छ । ती स्थानमा आयोजना गरिएका सभामा स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको कांग्रेसको दाबी छ । बुधबार गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न बस्ती तथा टोलमा चुनावकेन्द्रित कार्यक्रम गरिएको छ । कार्यक्रममा उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताले विकास, रोजगारी, सडक, स्वास्थ्य र शिक्षा जस्ता विषयलाई मुख्य एजेन्डा बनाएर मतदातासँग संवाद गरेका छन् ।