तानसेन समाचारदाता
तानसेन, माघ २३ गते । पाल्पाका मुख्य सडक स्तरोन्नति नभएको भन्दै यहाँका मतदाताले उम्मेदवारलाई प्रश्न उठाउने गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट बनेका उम्मेदवारलाई पाल्पाली मतदाताले सडकको अवस्था सुधार गर्न नसकेको भन्दै प्रश्न गरेका हुन् ।
जिल्लाको मुख्य सडकका रूपमा रहेको आर्यभन्ज्याङ–ताहुँ–रामपुर सडक, तानसेन–हार्थोक–छहरा सडक, बाँसटारी–झडेवा सडक र तानसेन–चिलाङ्दी–चापपानी–राम्दी सडक स्तरोन्नति हुन नसकेको भन्दै मतदाताले प्रश्न उठाउन थालेका छन् ।
विगतको निर्वाचनमा जिल्लाका मुख्य सडक सुधार गर्ने र हिउँद र बर्खामा सहज रूपमा हिँडडुल गर्न सक्ने प्रतिबद्धता जनाए पनि कसैले पनि सडक सुधारको काममा प्राथमिकता दिन नसकेको मतदाताको गुनासो छ । १५ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको सडक विगत एक दशकदेखि क्षतविक्षत अवस्थामा रहँदा मतदाता आक्रोशित बनेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा सात वर्षअघिदेखि काम अगाडि बढाए पनि लामो समयसम्म सडक स्तरोन्नति हुन नसकेको मतदाताको भनाइ छ । रैनादेवी छहरा–२, सोमादीका स्थानीय मदन भण्डारीले भन्नुभयो, “तानसेनदेखि पश्चिम जाने सडक १० वर्ष भयो तर अहिलेसम्म बन्न सकेको छैन । चुनावका बेला यो सडकलाई कालोपत्रे गर्छौं भनेर आउने उम्मेदवारले चुनाव सकिएपछि बाटो बनाउन ध्यान दिन सकेनन् ।”
जिल्लाको पूर्वी भेग जाने आर्यभन्ज्याङ–रामपुर सडक पनि एक दशकदेखि क्षतविक्षत अवस्थामा छ । प्रदेश सरकारले सडक स्तरोन्नतिको काम थालेको छ वर्ष बिते पनि काम अझै सकिएको छैन । यसले नयाँ तथा पुराना उम्मेदवारलाई सडकबारे प्रश्न सामना गर्नु परेको छ । माथागढी, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका स्थानीय बासिन्दाले प्रयोग गर्ने सडक लामो समयदेखि बन्न नसक्दा सास्ती बेहोर्नु परेको रम्भा–५, ताहुँका स्थानीय बासिन्दा विनोद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक बनाउने भनेर प्रतिबद्धता जनाएको एक दशक बितिसक्यो तर अहिलेसम्म बन्न सकेको छैन ।”
बन्न नसकेका मुख्य चार वटा सडक बनेका खण्डमा १० वटै पालिकाका स्थानीय बासिन्दा लाभान्वित हुने छन् । पाल्पा–२ का राप्रपा उम्मेदवार डुलबहादुर कुँवरले यी सडक जिल्लाको विकासमा मेरुदण्डका रूपमा रहेको भए पनि सडक निर्माणको कामले गति लिन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लाका चार वटा सडक जिविसले बनाउन छाडेपछि अलपत्र जस्तै बन्यो ।” १५ वर्षमा सडक स्तरोन्नति नहुँदा मतदाता रिसाएर प्रश्न गरेका छन् । मतदाताले प्रश्न उठाएपछि कांग्रेस, एमाले, नेकपा, रास्वपालगायतका दल र स्वतन्त्र उम्मेदवारले जिल्लाका मुख्य सडकको स्तरोन्नतिका काम आफूहरूको प्राथमिकतामा रहेको बताएका छन् ।