• २३ माघ २०८२, शुक्रबार

पर्सा–२ मा पुरानै दलबिच प्रतिस्पर्धा

blog

कन्हैयालाल केशरी 

पर्सा, माघ २३ गते  । पर्सा क्षेत्र नं. २ मा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको भए पनि मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रिमाकुमारी यादव र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सुशील साह कानू, जसपा नेपालका अशोक टेमानी र राप्रपाका बिना जैसवालबिच हुने मतदाताको आकलन रहेको छ । नेपाली कांग्रेसबाट २०५६ सालदेखि निरन्तर उम्मेदवार हुँदै आएका चौरसिया दुई पटक मन्त्री भइसक्नुभएको छ । 

चौरसियाले आफूले यस क्षेत्रमा सुरु गरेका केही काम अधुरो रहेकाले त्यो पूरा गर्न यस पटक पनि मतदाताको विश्वास आफूप्रति रहेको उहाँ बताउनुहुन्छ । 

चौरसियासँग प्रतिस्पर्धामा रहेकी नेकपा (एमाले) का उम्मेदवार रिमाकुमारी यादव पर्साकै सबैभन्दा कान्छी उम्मेदवार हुनुहुन्छ । राजनीतिक अनुभव नभए पनि विकासनिर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानू वीरगन्ज महानगरपालिका–१० को वडाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएको छ । उहाँले मुलुकले परिवर्तन चाहेकाले राजनीतिक स्थिरता र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । परिवर्तन युवाबाट मात्र सम्भव रहेकाले सबैको साथ र सहयोग आफूलाई मिल्ने दाबी उहाँको छ । 

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोक टेमानी व्यवसायी समुदायबाट राजनीतिमा प्रवेश गर्नुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुँदै मधेश प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका अशोक टेमानी लगानीमैत्री वातावरण बनाई बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुहुन्छ । उहाँले पर्सालाई सरकारले औद्योगिक नगरी घोषणा नगरे पनि मुलुकमा वीरगन्ज औद्योगिक नगरीका रूपमा पहिचान बनाएकाले त्यस अनुरूपको काम अगाडि बढाउन आवश्यक रहेकोले मतदाताको रोजाइमा आफू पर्ने दाबी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद हुँदै प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बिना जैसवाल आफू समानुपातिक सांसद हुँदा सीमित स्रोतसाधन र बजेटमा आफ्नो क्षेत्रमा गरेको कामको मूल्याङ्कन मतदाताले गरेकाले यस पटक प्रत्यक्ष उम्मेदवारी दिएको बताउनुहुन्छ । उहाँले सबै धर्म, संस्कृति, परम्परा सामान्य रूपमा सबैले उपभोग गर्न पाइने वातावरण बनाउन आफू लागिपरेको स्पष्ट पार्नुभयो । पर्सा निर्वाचन क्षेत्र नं. २ मा ९५ हजार १२० जना मतदाता रहेका छन् ।