नवराज नेपाली
बागलुङ (गलकोट) माघ २३गते । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई कृयाशिल पत्रकारलाई पुरस्कृत गरेको छ ।जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारिता पुरस्कारबाट धौलागिरी जागरण दैनिकका सह–सम्पादक सृजना पन्तलाई पुरस्कृत गरेको छ । उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिँदै आइएको छ ।
यस्तै तीन वर्षदेखि प्रदान गरिँदै आएको प्रेस चौतारी युवा कृयाशिल पत्रकारितका पुरस्कार यस वर्ष जननिगरानी साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अर्जुन कार्कीलाई प्रदान गरिएको छ । पन्त र कार्की बागलुङमा एक दशकभन्दा बढीदेखि पत्रकारितामा सक्रिय रहेका छन् ।
बिहीबार प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले पत्रकार दुई जनालाई नगद १० हजारका दरले पुरस्कृत गरेको जिल्ला अध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो ।
जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको कृयाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलता, निरन्तरताका आधारमा हरेक वर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो ।
यसअघि उक्त पुरस्कार कोषबाट १० जना पत्रकार पुरस्कृत भइसकेका छन् । त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कार कार्कीलार्ई प्रदान गरिएको हो । युवा कृयाशिल पत्रकारिता पुरस्कारबाट यस अघि खेमराज गौतम र तारानाथ आचार्य पुरस्कृत भइसक्नुभएको थियो ।
यस वर्ष क्रियाशिल पत्रकारितका पुरस्कार छनोटमा समितिमा पूर्वकेन्द्रीय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष कमल पौडेल रहनुभएको थियो ।
यस्तै युवा क्रियाशिल पत्रकारिता पुरस्कार छनोट समितिमा नीति तथा अनुसन्धान आयोगका केन्द्रीय सदस्य उमाकान्त शर्माको संयोजकत्वमा पूर्वजिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष कमल पौडेल रहनुभएको थियो ।
प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलाता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा कृयाशिल पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनोट समितिका संयोजक राम कृष्ण शर्माले जानकारी दिनुभयो ।
समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दस/दस हजार रुपियाँ रहेको छ ।