• २३ माघ २०८२, शुक्रबार

फेरिएको चुनावी प्रचार शैली, सामाजिक सञ्जाल प्राथमिकतामा

blog

मतदातासँग भेटघाट गरेको फोटो फेसबुकमा राखेर प्रचार गर्दै चितवन २ का नेकपा एमालेका उम्मेदवार अश्मिन घिमिरे । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, माघ २३ गते ।
निर्वाचनमा हुने चुनावी प्रचार शैली विगतभन्दा अहिले फेरिएको छ । पर्चा, पम्प्लेट, तसल व्यानर, भाषण, भित्ते लेखन लगायतको कार्य हुने गरेकोमा अहिले प्रचार शैली फेरिएर सामाजिक सञ्जाल नै प्रमुख स्थान बनेको हो । निर्वाचनमा आफ्ना उम्मेदवार तथा पार्टीलाई मतदान गर्नका लागि आकर्षित पार्न तथा आफ्नो एजेण्डा सुनाउन सामाजिक सञ्चालका विभिन्न प्लेटफम प्रमुख माध्यम बन्न थालेको छ ।

विगतमा घर दैलो तथा भाषण गरी चुनावी प्रचार गरिएकोमा त्यो संस्कारलाई निरन्तरता दिए पनि प्रमुख प्रचार भने सामाजिक सञ्जाललाई नै आधार मान्ने गरिएको हो । फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक तथा तथा नयाँ स्थापना भएका दल, स्वतन्त्र उम्मेदवार सबैको पहिलो प्रचार माध्यम भनेकै सामाजिक सञ्जाललाई लिएको छ ।

सामाजिक सञ्जालबाट जनता माझ आफ्ना विषय लैजान सजिलो हुने भएकाले यसलाई आधार बनाएको हो । नेकपा (एमाले) चितवनले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको प्रचार गर्न प्रचार डेक्स स्थापना गरी सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको जिल्ला सचिव प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले सामाजिक सञ्जालको प्रयोग गाउँगाउँमा छ । बालबालिकादेखि वृद्धसम्मले त्यही सामाजिक सञ्जाल फेसबुक, युटुब, टिकटकमा आएको भिडियोको आधारमा धारणा बनाउने भएकाले पार्टीले पनि प्रचारमा सामाजिक सञ्जाल प्रयोग गर्न थालेको हो । हामीले जिल्लामा डेक्स स्थापना गरेर नै तीन वटै क्षेत्रमा भएका गतिविधिलाई सबै माफ पु¥याउन भिडियो फोटो प्रयोग गरेका छौँ । हाम्रा एजेण्डा सञ्जला मार्फत पु¥याउदै आएका छौँ ।”

नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानले सबैभन्दा उपयुक्त माध्यम नै अहिले फेसबुक टिकटक भएकाले यसको प्रयोगमा जनशक्तिनै खटाएको जानकारी दिनुभयो । ‘‘तीन वटै निर्वाचन क्षेत्रमा भएका गतिविधि खिच्ने र सामाजिक सञ्जालमा राख्ने काम गरेका छौँ । सबै स्थानमा पुग्न कठिन हुन्छ । हामीले हाम्रा कुरा राख्न र जनताले घरबाटै हाम्रा कुरा सुन्न र हेर्न पाउने माध्यम नै फेसबुक र टिकट बनेको छ । त्यसैले यसको प्रयोग आवश्यक ठानेका छौँ ।’’ उपसभापति न्यौपानेले बताउनुभयो ।

निर्वाचन क्षेत्र नंं १, २ र ३ मा भएका गतिविधि, उम्मेदवारको भनाइ, पार्टीका नेताहरुको भनाइ, पार्टीको धारणा प्रतिवद्धता सवै घर दैलोसँगै सञ्जालमा पनि प्रचार गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भन्नुभयो “सबैको घरमा इन्टरनेट, हातहातका मोबाइल छ । मोबाइलबाटै देशभरीका चुनावी गतिविधि जनताले हेर्नु भएको छ । त्यसैले हामीले हाम्रो प्रचार पनि सामाजिक सञ्जाललाई आधार मानेका छौँ ।” सामाजिक सञ्जालमा फेसबुक, टिकटक, इन्स्ट्राग्रामको सहारा लिएका छ, उहाँले भन्नुभयो ।

‘‘पार्टीेको नेतृत्वले गरेको काम, योजना सबै विषय भिडियो मार्फत सञ्जालमा राखेका छौँ । सबैले घरमा बसेर आफ्नो अनुकूल समयमा हेर्न सकिने भएकाले यसको महत्त्व धेरै छ ।,’’ संयोजक अधिकारीले भन्नुभयो । पार्टीका नेताको भूमिका सबै विषय छोटोमा जानकारी गराउनका लागि सञ्जाल उपयुक्त माध्यम बनेको उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुसालले सामाजिक सञ्जाल अहिलेको अपरिहार्य अवश्यकता भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ देशी भरीका गतिविधि हामीले पार्टीको फेसवुक पेज मार्फत जानकारी गराउछौँ । पेजबाटै प्रत्यक्ष प्रशारण गर्छौं । सबैले पेज हेरेर जानकारी लिनुहुन्छ । नजिक हुनु भएकाहरु पनि कार्यक्रम स्थलमा आउन सजिलो हुन्छ । त्यसैले सञ्जाल उपयुक्त माध्यम भएको छ ।” सञ्जाल सञ्चालन गर्ने अलग्गै टिम भएकाले उसैले सबै काम गर्ने उहाँले जानकारी दिनुभयो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले समय अनुसार प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो । पार्टीले अधिकतम प्रविधिको प्रयोग गर्दै जनतासँग साक्षत्कार गर्न सामाजिक सञ्जालको प्रयोग आवश्यक भएको बताउनुभयो । हामीले हाम्रा गतिविधि विभिन्न सञ्चार माध्यम, सञ्जाल, घरदैलो, सभा सम्मेलन मार्फत जनता माझ जाने काम भएको उपाध्यक्ष पाण्डेले बताउनुभयो । साना दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो प्रचार कार्यलाई अगाडि बढाएका छन् ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका समाजशास्त्रका प्राध्यापक कृष्णप्रसाद पौडेलले समाजका मानिसको सोचाइ र जीवनशैली परिवर्तनशील हुने भएकाले अहिले सामाजिक सञ्जालमा आएका कुरालाई ध्यान दिएर सुन्ने बानी परेको बताउनुभयो । परिवर्तित समयका कारण एउटै माध्यममा जनता भेट्ने हुँदा राजनीतिक दलहरुले सञ्जालको प्रयोगलाई प्राथमिकता दिएको बताउनुहुन्छ ।