अविनाश चौधरी
धनगढी, माघ २३ गते । प्रेस चौतारी कैलाली शाखाले डेढ लाख रुपियाँको पत्रकार अक्षयकोष स्थापना गरेको छ । आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर चौतारीले पत्रकार अक्षयकोष स्थापना गरेको हो ।
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले बिहीबार अक्षयकोषको घोषणा गर्नुभयो । समस्यामा परेको पत्रकारलाई सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरेको जनाइएको छ ।
पत्रकारललाई स्वास्थ्य समस्या भएको वा दुर्घटनामा परेको अवस्थामा अक्षयकोेषबाट सहयोग गरिने प्रेस चौतारीका जिल्ला अध्यक्ष जनकसिंह विष्टले बताउनुभयो । उहाँले ब्याजबाट प्राप्त रकम सहयोग गरिने जानकारी दिनुभयो । यसैगरी, पत्रकारका श्रीमती र सन्तानलाईसमेत यो सुविधा प्रदान गरिने जनाइएको छ ।
दिवसको अवसरमा चौतारीले चक्र डङ्गौरा स्मृति पत्रकारिता पुरस्कार पत्रकार लीलाजङ्ग शाही र युवा प्रतिभा पुरस्कार पत्रकार कमल सावदलाई प्रदान गरेको छ ।