• २३ माघ २०८२, शुक्रबार

कोटेश्वरस्थित भाटभटेनी भोलिदेखि सञ्चालनमा आउने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । 

आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । आन्दोलनका क्रममा भाटभाटेनीका १२ विभिन्न सुपरस्टोर क्षतिग्रस्त बनेका थिए । 

“यो पुनः सञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिविम्बित गर्दछ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलले यस्तो घटनाबाट प्रभावित भए पनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाको सहयोग र विश्वासका कारण छिटो पुनरुत्थानको बाटोमा अघि बढ्न सफल भएको बताउनुभयो । 

“कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोर पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने हाम्रो तयारी छ,” उहाँले भन्नुभयो । भाटभाटेनीले यसअघि गत मङ्सिरमा बालुवाटारमा रहेको गोदामघर पनि मर्मतपश्चात् पुनः सञ्चालनमा ल्याएको थियो । आगजनी तथा तोडफोडमा परेका बाँकी सबै स्टोरको पुनर्निर्माण जारी रहेको कम्पनीले जनाएको छ ।