• २३ माघ २०८२, शुक्रबार

प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेपछि विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपियाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको हो ।

भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तामाङद्वयले आयोगमा अनुसन्धानका क्रममा गरेको बयान प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको आयोगको ठहर छ । साबिक चाँगुनारायण गाविस–५ ख, कित्ता नं. २८६ र २८९ को जग्गा बाँडफाँट तथा नामसारीका लागि सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको कार्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बयान फेर्ने साक्षीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा २४ लाख ५० हजार रुपियाँ बिगो कायम गरिएको छ । प्रतिवादीलाई ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिबाना सजायको माग गरिएको छ । 

दस जनाविरुद्ध मुद्दा

यस्तै अख्तियारले प्रादेशिक अस्पताल सिराहाका तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव तथा डा. सरोज यादवसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । ओपिडीलगायतमा महत्वपूर्ण नगद रकम सङ्कलन काउन्टरमा राखी दैनिक सङ्कलन भएको राजस्व रकम, राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको आरोप आयोगले प्रतिवादीमाथि लगाएको छ । आयोगका अनुसार उहाँहरूको मिलेमतोमा लामो समयदेखि ५० लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।