• २३ माघ २०८२, शुक्रबार

सामाजिक सञ्जालको दुरुपयोगप्रति आपत्ति

blog

गोरखापत्र समाचारदाता

ललितपुर, माघ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले  फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई गम्भीर चासोका रूपमा हेरिएको जनाएको छ । 

पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको र नागरिकको खबरदारीका रूपमा हेरेको उल्लेख गरेको छ । एमाले प्रचार विभागका प्रमुख मीनबहादुर शाहीले एमाले सामाजिक सञ्जालको प्रयोगबारेमा सजग रहेको र एमाले नेतृत्वमाथि निरन्तर प्रहार भएको उल्लेख गर्नुभयो । निर्वाचन प्रक्रिया अन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधिबारे एमालेले निगरानी गरिरहेको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

एमाले लोकतान्त्रिक मूल्यमान्यता मर्यादा र निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा एमाले प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । प्रविधिको प्रयोग गैरजिम्मेवारी र गैरराजनीतिक ढङ्गले भएकामा एमालेले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ । देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि र प्रचारप्रसारको शैलीमा प्रविधिको गैरराजनीतिक तथा गैरजिम्मेवार ढङ्गले प्रयोग भइरहेको उहाँले बताउनुभयो । 

विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीका निर्वाचन चिह्नबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्ने काम भइरहेको बताउँदै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भएकामा उहाँले ध्यानाकर्षण भएको बतानुभयो । प्रचार विभाग प्रमुख शाहीले भन्नुभयो, “पार्टीको चुनाव चिह्न परिवर्तनलगायतका भ्रामक समाचार सामग्री तयार पारी प्रसारण गर्ने कलाकारलगायत जोसुकैलाई पनि कानुनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गालीगलौज, अमर्यादित र असभ्य शब्दको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति उहाँले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी यस्ता कुराको कडा शब्दमा भत्र्सना एवं निन्दा गर्दछौँ ।” उहाँले एमालेको चुनाव चिह्न सूर्य परिवर्तन भएको छ भन्नेसम्मका एआईद्वारा सिर्जना गरिएका सामग्रीप्रति पार्टीको गम्भीर आपत्ति रहेको पनि बताउनुभयो ।