गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । सैन्य आक्रमणको धम्की दिइरहेको अमेरिकाले शुक्रबार इरानसँग वार्ता गर्दै छ । परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि वार्तामा बस्न अमेरिकाले लगातार विभिन्न तरिकाले दबाब दिएपछि इरान अन्ततः वार्ताका लागि तयार भएको हो । दुई देशबिच ओमानको राजधानी मस्कटमा वार्ता हुने सहमति भएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
इरानले ओमानलाई अघिल्ला परमाणुकेन्द्रित वार्ताको निरन्तरता ठान्दै यही स्थान रोजेको क्षेत्रीय अधिकारीले बताएका छन् । वार्तामा अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुस्नर तथा इरानबाट विदेशमन्त्री अब्बास अराक्चीसहितको टोली सहभागी हुने कार्यक्रम छ । वार्ताको एजेन्डा के कस्तो हुने भनेर खुलिसकेको छैन । दुवै देशबिच एजेन्डाबारे मतभेद छ । अमेरिका इरानको परमाणु कार्यक्रम र क्षेत्रीय गतिविधि वार्ताको एजेन्डामा समेटिनुपर्ने पक्षमा छ भने इरानले परमाणु कार्यक्रमबाहेक अन्य विषय छलफलयोग्य नरहेको भनेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्ता परमाणु विषयमा मात्र सीमित नरहने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम, मध्यपूर्वमा सशस्त्र समूहलाई दिएको समर्थन र आन्तरिक मानव अधिकार अवस्थाबारे पनि छलफल हुनुपर्ने अमेरिकी अडान छ । इरानले आफ्नो परमाणु गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ तर अमेरिका र इजरायलले विगतमा परमाणु हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन् । पछिल्लो समय अमेरिकाले हजारौँ सैनिक, विमानवाहक युद्धपोत र लडाकु विमान मध्यपूर्व पठाइसकेको छ ।