दुबई, माघ २२ गते । सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जित्नुभएको छ ।
नागीले दुबईमा विश्व सरकारको शिखर सम्मेलनमा पुरस्कार स्वीकार गर्नुभयो । यो वार्षिक कार्यक्रमले विश्वभरका नेतालाई आकर्षित गर्दछ । नागी आर्ट फाउन्डेसनमार्फत उहाँले भारतभरि ८०० भन्दा बढी सिकाइ केन्द्र स्थापना गर्नु भएको छ, जहाँ कहिल्यै विद्यालय नजाने बालबालिकाले संरचित शिक्षा पाउन सक्ने छन् र पहिले नै स्कुलमा रहेका बच्चालाई पनि पढाइन्छ ।
नागीले साक्षरता, विज्ञान, गणित र इतिहास सहितका विषय सिकाउने भित्ते चित्र बनाउनुहुन्छ । यसले बालबालिकाको शिक्षा र सिर्जनात्मक क्षमता बढाउँछ । उहाँले पुरस्कारबाट प्राप्त १० लाख डलर निःशुल्क व्यावसायिक प्रशिक्षण प्रदान गर्ने संस्थान निर्माणमा प्रयोग गर्ने योजना बनाउनु भएको छ ।
ग्लोबल शिक्षक पुरस्कार वार्की फाउन्डेसनद्वारा प्रदान गरिन्छ । यसका संस्थापक सन्नी वार्कीले इजिप्ट, कतार र संयुक्त अरब इमिरेट्समा दर्जनौँ विद्यालय सञ्चालन गर्ने नाफामूलक जीईएमएस शिक्षा कम्पनी स्थापना गर्नु भएको थियो । यो पुरस्कार सन् २०१५ देखि प्रदान हुँदै आएको हो र नागी यसका १० औँ विजेता हुनुभयो ।
गत विजेतामा दुर्गम गाउँका केन्याली शिक्षक, प्यालेस्टिनी प्राथमिक शिक्षक, क्यानाडाली शिक्षक र साउदी शिक्षक मन्सुर अल–मन्सुर रहनुभएको छ । उहाँहरूले आफ्ना विद्यार्थीलाई सामाजिक सेवा, अहिंसा र गरिबसँग काम गर्ने शिक्षा प्रदान गर्दै आउनु भएको छ ।
जीईएमएस शिक्षा वा ग्लोबल एजुकेशन म्यानेजमेन्ट सिस्टम विश्वको सबैभन्दा ठूलो निजी विद्यालय अपरेटर मध्ये एक हो र यसको मूल्य अर्बौंमा आँकलन गरिएको छ । यसको सफलता विशेष गरी दुबईमा निजी विद्यालयमार्फत विदेशी बालबालिकालाई कक्षा उपलब्ध गराउने क्षमतामा आधारित छ, जसले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ । रासस/एपी