• २२ माघ २०८२, बिहिबार

आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

blog

नेपाली ओपनर आशिफ शेख र कुशल भुर्तेल । तस्बिरः क्यान

काठमाडौँ, माघ २२ गते । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले १२ बल बाँकी हुँदा लक्ष्य भेट्टाएको हो । 

चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।


क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाउनुभयो । यस्तै श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१  र निकोलश किर्तनले १० रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । 


१६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफ शेखले अर्धशतक बनाउनुभयो । २९ बलको सामना गर्दा ६ चौका र तीन छक्काको मद्दतमा उहाँले ५८ रन बनाउनुभएको हो । सन्दीप जोराले ४४ रन जोड्नुभयो भने गुल्सन झाले नटआउट ३१ रन बनाउनुभयो ।  

ओपनर कुशल मल्ल १२ रनमा आउट हुनुभएको खेलमा शेख रिटायर्ड हट भएपछि क्रिजमा गुल्सन झा पुग्नुभएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ९ रन बनाउनुभएको खेलमा लोकेश बमले पाँच रन थप्नुभयो । 

यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स (युएई) माथि सात विकेटको जित निकालेको थियो । 


नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो । 

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो । 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश (टोली) लाई चार समूहमा विभाजन गरिएको छ।

जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ । 

यस्तै समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।

आइसिसीले यस विषयमा पाकिस्तानलाई सहमतिमा समाधान खोज्न आग्रह गरिरहेको छ । पाकिस्तान खेलेन भने उक्त खेलमा भारतले स्वत दुई अङ्क पाउनेछ । 

यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छ भने  समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । सेमिफाइनल विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।