मस्को, माघ २२ गते । रुस र संयुक्त राज्य अमेरिकाबिचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठुला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ ।
सन्धि समाप्त भएपछि विशेषज्ञले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष सन्धि सीमामा एक वर्षका लागि अडिग रहन प्रस्ताव गर्नुभएको थियो, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिबद्धता जनाउनुभएन । ट्रम्पले सम्भावित नयाँ सम्झौतामा चीनलाई समावेश गर्नुपर्ने सङ्केत दिनु भएको छ, तर बेइजिङले यसलाई अस्वीकार गरेको छ ।
पुटिनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सन्धि म्याद समाप्त भएको विषयमा छलफल गर्नुभएको छ, तर क्रेमलिनका सल्लाहकार युरी उसाकोभका अनुसार वासिङ्टनले प्रस्तावमा प्रतिक्रिया दिएको छैन । रुसले सुरक्षा अवस्थाको गहन विश्लेषणपछि सन्तुलित र जिम्मेवार ढङ्गले कदम चाल्ने बताएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा सन्धिको म्याद सकिएपछि रुस अब मुख्य प्रावधान वा कुनै दायित्वबाट बाध्य छैन र आफ्नो अर्को कदम स्वतन्त्र रूपमा तय गर्न सक्ने छ भनिएको छ ।
न्यु स्टार्ट सन्धि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेवले हस्ताक्षर गर्नु भएको थियो । उक्त सन्धिले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बम वर्षकमा एक हजार ५५० भन्दा बढी तयार अवस्थामा रहेका आणविक हतियारमा सीमा लगाएको थियो । यो सन्धि सन् २०२१ मा समाप्त हुने थियो, तर पाँच वर्षका लागि विस्तार गरिएको थियो । सन्धिले अनुपालन प्रमाणित गर्न साइट निरीक्षणको व्यवस्था गरेको थियो, तर सन् २०२० को कोभिड-१९ महामारीपछि ती निरीक्षण रोकिएका थिए ।
फेब्रुअरी २०२३ मा पुटिनले अमेरिकी निरीक्षण निलम्बन गर्दै युक्रेनसँगको सङ्घर्षमा वासिङ्टन र नाटोले मस्कोको हारलाई आफ्नो लक्ष्य घोषणा गरेपछि रुसले आफ्ना साइट निरीक्षण गर्न अनुमति दिन नसक्ने बताउनु भएको थियो । तर क्रेमलिनले सन्धिको मुख्य प्रतिबन्धको सम्मान जारी राख्ने र पूर्णरूपमा पछि हट्ने नभएको स्पष्ट पारेको थियो ।
सन् २०१० को सम्झौता न्यु स्टार्टले अमेरिका-रुस बिचको लामो ऐतिहासिक आणविक हतियार घटाउने शृङ्खलालाई जारी राखेको थियो, जसका अघिल्ला सम्झौता सबै समाप्त भइसकेका छन् । ट्रम्पले नयाँ सम्झौतामा चीनलाई समावेश गर्ने प्रस्ताव राख्नु भएको छ, तर बेइजिङले आफ्नो बढ्दो आणविक भण्डारमा कुनै प्रतिबन्ध मान्न अस्वीकार गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार चीन वर्तमान चरणमा वार्तामा भाग लिन तयार छैन, तर अमेरिका र रूससँग चाँडै वार्ता पुनः सुरु गर्न आह्वान गर्दछ र दुवै पक्षले हालका सन्धि सीमाहरू पालन गर्न जारी राख्नुपर्छ । रासस/एपी