• २२ माघ २०८२, बिहिबार

वीर गणेशमान स्मृति तेक्वान्दोको तयारी

blog

प्रतियोगिताको ट्रफी सार्वजनिक गरिँदै ।

काठमाडौँ, माघ २२ ग्ते । काठमाडौँ महानगरपाल वडा नं २२ को आयोजना र सङ्कटा क्लबको सहआयोजनामा काठमाडौँ महानगरपालिका अन्तर वडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका महान योद्धा वीर गणेशमान सिंहको स्मृतिमा आयोजना हुन लागेको यस प्रतियोगिता माघ २३ र २४ गते सकटा टेवहाल परिसरमा सञ्चालन हुनेछ । नेपाल तेक्वान्दो सङ्घले प्राविधिक सहयोग प्रदान गर्ने छ ।

संयोजक चन्द्रमान तुलाधरले प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वडाका खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कुल ६४० खेलाडी सहभागी हुने अनुमान गरिएको छ । जसमध्ये ३२० पुरुष र ३२० महिला खेलाडी रहने छन् । प्रत्येक टिमबाट अधिकतम् २० जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष र महिलामा समान आठ तौल समूहमा प्रतिस्पर्धा हुने छ । फाइटमा महिलातर्फ २०–२४ केजी, २४–२८ केजी, २८–३२ केजी, ३२–३६ केजी, ४०–४४ केजी, ४४–४८ केजी र ४८–५२ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

पुरुषतर्फ पनि सोही तौल समूहमा खेल हुने छ । यसैगरी, एकल पुम्सेतर्फ पुरुष तथा महिलामा दुई उमेर समूह १२ वर्षमुनि र १२ वर्षदेखि १६ वर्षसम्म प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा कुल २० स्वर्ण, २० रजत र ४० कास्य पदक प्रदान गरिने छ । 

स्वर्ण पदक विजेताले तीन हजार रजत पदक विजेताले दुई हजार र कांस्य पदक विजेताले एक हजार नगद पुरस्कारका साथै पदक प्राप्त गर्ने छन् । टिम च्याम्पियनले ट्रफी पनि पाउने छ ।

कामनपा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले काठमाडौँ महानगरपालिकाभित्रका खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्य प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

उहाँले सङ्कटा क्लबले २०७२ सालमा पनि तेक्वान्दो प्रतियोगता गरेको जानकारी दिनुहुँदै अबदेखि यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने छ, भन्नुभयो । कामनपा वडा २२ ले यसै वर्ष काठमाडौँ महानगरपालिका शारिरीक सुगठन प्रतियोगिता र अन्तर वडा चेस प्रतियोगिताको आयोजना पनि गरिसकेको छ ।