ब्रसेल्स, माघ २२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनु अघिसम्म युरोपेली सङ्घ (इयु) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको ध्यान अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको छ ।
व्यापारमा दबाब सिर्जना गर्नेदेखि ग्रिनल्यान्ड कब्जाको धम्कीसम्म ट्रम्पका अभिव्यक्ति तीव्र बन्दै गएपछि, चाहेको खण्डमा उहाँले युरोपलाई डिजिटल रूपमा ठप्प पार्न सक्ने चिन्ता बढेको छ । ग्रिनल्यान्ड विषयमा ट्रम्प पछि हटेपछि इयुका उच्च अधिकारीले भू-राजनीतिक झड्काप्रति सङ्घ अत्यन्तै असुरक्षित रहेको चेतावनी दिँदै रक्षा, ऊर्जा र प्रविधिमा रणनीतिक आत्मनिर्भरताको आवश्यकता औँल्याउन थालेका छन् ।
सन् २०२३ को इयू प्रतिवेदन अनुसार, २७ देशको यो सङ्घ डिजिटल उत्पादन, सेवा, पूर्वाधार र बौद्धिक सम्पत्तिको ८० प्रतिशतभन्दा बढीका लागि विदेशी देशमा निर्भर छ । यही निर्भरता घटाउने प्रयास स्वरूप युरोपले अमेरिकी प्रविधिमाथिको निर्भरता क्रमशः कम गर्न थालेको देखिन्छ । यसको पछिल्लो उदाहरण गत साता देखियो ।
फ्रान्सले सरकारी कर्मचारीलाई चाँडै जुम वा माइक्रोसफ्ट टिम्सजस्ता उपकरणको सट्टा स्वदेशी विकल्प प्रयोग गर्न निर्देशन दिने तयारी गरेको बतायो । ब्रसेल्सका लागि वास्तविक चेतावनी भने गत वर्ष आएको थियो । वासिङ्टनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगायो । यसका कारण उनीहरू अमेजन र गुगल जस्ता अमेरिकी प्रविधिबाट वञ्चित भए ।
यस घटनाले युरोपेली जीवनशैलीलाई आधार दिने धेरै उपकरणमाथि अमेरिकाको कति बलियो नियन्त्रण छ भन्ने स्पष्ट पारेको छ । इयूकी प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले विगत एक वर्षमा अत्यन्त महत्त्वपूर्ण प्रविधिमा कुनै एक देश वा कम्पनीमाथि निर्भर नहुने आवश्यकता सबैले गम्भीर रूपमा महसुस गरेको बताउनुभयो । उहाँले यस्ता निर्भरता हतियारका रूपमा प्रयोग हुन सक्ने चेतावनी पनि दिनुभयो ।
भिर्कुनेनले आगामी मार्चमा क्लाउड, कृत्रिम बौद्धिकता (एआई) र चिप्स समेटिएको ‘टेक सार्वभौमिकता’ सम्बन्धी ठुलो प्याकेज सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । यिनै क्षेत्रमा इयुले बढी स्वायत्तता निर्माण गर्न चाहेको छ । युरोपेली डिजिटल एसएमई एलायन्सका महासचिव सेबास्टियानो टोफालेट्टीले डिजिटल प्रविधि अब तटस्थ उपकरण मात्र नरहेको बताउनुभयो ।
उहाँका अनुसार, क्लाउड, एआई वा प्लेटफर्म जस्ता आधारभूत पूर्वाधार युरोपबाहिरबाट नियन्त्रण हुँदा नियम, डाटा र अन्ततः दबाब पनि बाहिरकै हातमा पुग्छ । सदस्य राष्ट्र मध्ये फ्रान्स र जर्मनी यस अभियानमा अग्रणी देखिएका छन् । जर्मनीको उत्तरी राज्य श्लेसविग-होल्स्टाइनले गत वर्ष माइक्रोसफ्ट त्यागेर खुला स्रोत सफ्टवेयर अपनाउँदै डिजिटल सार्वभौमिकताको उदाहरण प्रस्तुत गरेको थियो । राज्यका डिजिटलकरण मन्त्री डिर्क श्रोएड्टरले सुरुआतमा यो कदम आर्थिक कारणले चालिएको भए पनि राजनीतिक तनावले यसको महत्त्व झन् बढाएको बताउनुभयो ।
छ महिनाभित्र राज्यले ४० हजारभन्दा बढी मेलबक्स माइक्रोसफ्ट एक्सचेन्ज र आउटलुकबाट ओपन-एक्सचेन्ज र थन्डरबर्डमा सार्यो । केही चुनौती आए पनि यसले डिजिटल स्वतन्त्रता सम्भव छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ । यस्तै, युरोपेली संसद्ले पनि माइक्रोसफ्टलगायत उपकरणमाथिको निर्भरता पुनरावलोकन गरिरहेको छ ।
इयू स्तरमा पनि पहल अघि बढिरहेका छन् । फ्रान्सेली कम्पनी मिस्त्राल र जर्मनीको एसएपीले युरोपेली एआई-आधारित क्लाउड समाधानमा सहकार्य गर्ने सहमति जनाएका छन् । फ्रान्स, जर्मनी, इटाली र नेदरल्यान्ड्सले साझा युरोपेली डिजिटल पूर्वाधार निर्माणका लागि आयोगको नेतृत्वमा संयुक्त प्रयास थालेका छन् ।
आज इयूका धेरै नीति सार्वभौमिकताको दृष्टिकोणबाट हेरिन थालेका छन् । डिजिटल युरो विकासको काम अघि बढि रहेको छ, जसलाई थोमस पिकेट्टीसहित दर्जनौँ अर्थशास्त्रीले युरोपेली सार्वभौमिकताको आवश्यक सुरक्षा भनेका छन् । यसअघि सन् २०२४ मा मास्टरकार्ड, भिसा र पेपलको विकल्पका रूपमा ‘वेरो’ नामक युरोपेली भुक्तानी प्रणाली सुरु भइसकेको छ ।
तर ब्रसेल्सस्थित थिङ्कट्याङ्क सेर्रेका जाक मेयर्सले प्रविधि सार्वभौमिकताको लक्ष्य स्पष्ट हुनुपर्ने चेतावनी दिनुभएको छ । यदि उद्देश्य राजनीतिक दबाब झेल्ने हो भने अमेरिकाविरुद्ध बढी ‘दबाब सिर्जना गर्ने क्षमता’ विकासमा ध्यान दिनु उपयुक्त हुने उहाँको तर्क छ । उहाँका अनुसार, अमेरिकी प्रविधि प्रयोग घटाउनु भन्दा चिप निर्माण मेसिनरी, कर्पोरेट सफ्टवेयर र दूरसञ्चार उपकरण जस्ता क्षेत्रमा युरोपमाथि अमेरिकाको निर्भरता बलियो बनाउनु प्रभावकारी रणनीति हुन सक्छ । रासस/एएफपी