• २१ माघ २०८२, बुधबार

महिलाले चलाएको सहकारी अब्बल

blog

महिला हित बचत तथा ऋण सहकारीको कार्यालय । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, माघ २१ गते । माइती र आफन्तले दिएको दक्षीणा घर चलाउँदा बचेको एक–दुई रुपियाँ थोरै गरेर थैलीमा जम्मा गरेको पैसा कोषमा जम्मा गर्न थालेपछि करोड पुग्ला भन्ने उहाँहरुको कल्पना बाहिर थियो । 

महिलाहरु मात्रै संगठित भएर पुँजीको खोजी, जम्मा र परिचलन गर्न थालेपछि सहकारीको सेयरपूँजी झण्डै तीन करोड रुपियाँ पुगेको छ । १ हजार ३ सय ३४ जना महिला मात्र शेयर सदस्य रहेको महिला हित बचत तथा ऋण सहकारीको शेयरपूँजी तीन करोड नजिक पुगेको छ । 

२०५८ सालमा एकसय रुपियाँको दरले २५ जना संस्थापकले २ हजार ५ सय संकलन गरेर कारोबार थालेको सहकारीले २४ वर्षको अवधिमा शेयरपूँजी २ करोड ९० लाख रुपियाँ पुगाएको छ ।  

सहकारीले शेयरपूँजीबाहेक २६ लाख ३६ हजार रुपियाँ राष्ट्रिय सहकारी बैंक लगायतका वित्तिय संस्थामा शेयर लगानी समेत गरेको छ । सहकारीले ‘एक घर एक महिला शेयर सदस्य’ बनाउने अभियान चलाएर शेयरपूँजी बढाउने योजना समेत बनाएको छ । यतिधेरै संख्यामा महिला शेयर सदस्य रहेर बनेको सहकारी जिल्लामै पहिलो हो ।

विशेषगरी दलित, पछाडि पारिएका महिला, मजदुर, गृहिणी र मजदुरीबाट बालबालिका पढाउनु पर्ने बाध्यतामा रहनुभएका महिलालाई एकीकृत गरेर सहकारी अगाडि बढेको अध्यक्ष लिलादेवी खड्का बताउनुहुन्छ । ‘‘मजदुरीबाट आर्जित पैसा जोगाएर जनजीविका चलाउन प्रेरित गर्न महिलालाई मात्र सहकारीमा आबद्ध गरेको हौं’’ खड्काले भन्नुभयो । 

यो सहकारीले १० करोड ५३ लाख ७४ हजार वचत संकलन गरेको छ भने १० करोड ७१ लाख २१ हजार रुपियाँ ऋण लगानी गरेको छ । बचत र ऋणको कारोबारसँगै आम महिलालाई उत्पादनशील क्षेत्रमा जोड्न सहकारीले ऋण प्रवाह गर्ने लक्ष्य राखेको छ । महिलालाई उद्यममा जोड्न सशक्तीकरण अभियानमा पनि सहकारीले चलाउँदैआएको छ । 

सहकारीले हरेक शेयर सदस्य सुत्केरी हुँदा वा घरपरिवारमा दुःख पर्दा भेट्न जाने, सहयोग गर्ने र उत्पादनशील काममा लगाउन ऋण प्रवाह गर्ने अभियानपछि महिलाले सहकारीलाई माइतीको रुपमा लिन थालेका छन् । ज्येष्ठ शेयर सदस्य खड्गकुमारी खड्काले सहकारीले बचत र ऋणको मात्र कारोबार नगरी महिलालाई आत्मनिर्भर बनाउने काममा साथ दिएको बताउनुहुन्छ । ‘‘सहकारी महिलाको लागि आडभरोसा बनेको छ’’ खड्काले भन्नुभयो । 

सहकारीप्रतिको नकारात्मक हावा चलेको बेला सहकारीलाई बचाउने, समयमा ऋण तिर्ने र सहकारीको सुरक्षा गर्ने काम पनि शेयर सदस्यले गर्नुपर्ने सहकारी अभियन्ता रामबहादुर जिसीले बताउनुभयो । बचत थुप्रिंदा पनि सहकारी घाटामा जाने भन्दै ऋण उठाउन लाग्दै खराव ऋणबारे कर्जा सूचना केन्द्रमा जानकारी दिन जिसीको सुझाव छ ।