चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नक्सा पास गराएर मात्र घर बनाउन पाइने भएको छ । पालिकाले विकास निर्माण मापदण्ड २०८२ जारी गर्दै घर संरचना निर्माण गर्दा नक्सा पास अनिवार्य गरेको हो ।
पालिकाभित्र पक्की तथा कच्ची दुबै प्रकृतिका घर निर्माण गर्न नक्सापास अनिवार्य गरिएको गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । भूक्षय तथा बाढी पहिरोको जोखिमबाट बच्ने उपायस्वरुप मापदण्ड जारी गर्दै घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष वनेमले बताउनुभयो ।
गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार नयाँ संरचना अर्थात घर निर्माणसँगै पुराना घरको अभिलेखीकरण गर्नुपर्ने व्यवस्था पनि विकास निर्माण मापदण्डमार्फत गरिएको छ । मापदण्ड जारी हुनुपूर्व निर्माण भएका सबै प्रकृतिका घरहरुको अभिलेखीकरण गर्नुपर्ने अनिवार्य गरिएको गोम्देनले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफ्नो पुरानो अर्थात हाल बसोबास गर्दैआएको घरको अभिलेखीकरणका लागि पालिकावासीलाई आह्वान गरिएको छ । सम्बन्धित वडाको सिफारिससहितका कागजात लिएर गाउँपालिकामा सम्पर्क गर्न पालिकावासीलाई आह्वान गरिएको उहाँको भनाइ छ ।
नयाँ घर संरचना बनाउन चाहनेलाई पनि घरको डिजाइन (आकृति) सहित नक्सा पास गराई स्वीकृति लिएर मात्र निर्माणको काम सुुरु गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।