विदुर आचार्य
चौतारा, माघ २१ गते । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दैगएको छ । यस क्षेत्रबाट मुख्य तीन राजनीतिक दलका उम्मेदवारसहित १८ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
चुनाव नजिकिदै गर्दा प्रतिस्पर्धा रोचक बन्दैगएको छ । सिन्धुपाल्चोक क्षेत्र २ मा नेकपा (एमाले) बाट शेरबहादुर तामाङ, नेपाली कांग्रेसबाट वंशलाल तामाङ र नेपाली कम्युनिष्ट पार्टीबाट युवराज दुलाल प्रमुख प्रतिस्पर्धीका रूपमा रहनुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलकबहादुर श्रेष्ठसहित अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनको तर्फबाट उम्मेदवार बनेको मोहनबहादुर बस्नेतले ३९ हजार ३८१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको थियो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शेरबहादुर तामाङले २७ हजार ५१५ मत ल्याउनुभएको थियो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले २ हजार ८२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले २ हजार ४५३ मत प्राप्त गर्नुभएको थियो ।
यसपटक एमाले र कांग्रेस दुवै पार्टी प्रतिष्ठा जोगाउने प्रयासमा छन् । दुई पटक प्रदेशसभा सदस्यमा गठबन्धनबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल भने आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने लक्ष्यसहित चुनावी मैदानमा सक्रिय देखिनुभएको छ ।
यद्यपि अघिल्लो स्थानीय तह निर्वाचनको परिणाम हेर्दा नेकपाको मताधार तुलनात्मक रूपमा कमजोर देखिन्छ । विकास निर्माणमा निरन्तर खटिएको र जनताको समर्थन प्राप्त भएकाले यस निर्वाचनमा सफलता हासिल हुने दुलालको दाबी छ । मनोनयन दर्तालगत्तै चुनावी अभियानमा जुट्नुभएका नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले पार्टीको सुदृढ संगठन, भूगोलमा गहिरो पहुँच र आफ्नो अनुभवका कारण निर्वाचन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
संविधानसभाको दोस्रो कार्यकाल र प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वाचित भई संसदमा प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले विपद्ग्रस्त मेलम्ची क्षेत्रको विकास, मेलम्ची खानेपानी व्यवस्थापन लगायतका मुद्दालाई प्राथमिकतामा राख्नुभएको छ ।
स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा नेपाली कांग्रेस यो क्षेत्रको बलियो शक्ति मानिन्छ । कांग्रेस उम्मेदवार वंशलाल तामाङले स्थानीय तहमा पार्टीको मजबुत उपस्थिति आफ्नो जितको मुख्य आधार भएको बताउनुभयो ।
यसअघि इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित तामाङले आर्थिक समृद्धि र स्थानीय विकासका मुद्दालाई चुनावी एजेन्डा बनाउनु भएको छ । चुनाव नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उम्मेदवारबिचको प्रतिस्पर्धा थप तीव्र र रोचक बन्दै जाने देखिएको छ ।